जनयुद्धको दुई दशकः बाजुराका ३० जना अझै बेपत्ता

बाजुरा । तत्कालिन नेकपा माओवादीले सुरु गरेको १० वर्षे जनयुद्ध सकिएको २ दशकभन्दा बढी भइसकेको छ । जनयुद्ध सकिएको २१ वर्ष पुगे पनि बाजुराबाट बेपत्ता भएका ३० जना भने अझै घर फर्केका छैनन् । तत्कालिन माओवादीले सुरु भएको जनयुद्धमा राज्य र माओवादी पक्षबाट बेपत्ता पारिएका ३० जना अझै वेपत्ता अवस्थामा रहेको परिवारले बताएका छन् । 

अहिले पनि परिवारहरु भने बेपत्ता भएका आफन्तहरुको बाटो हेर्दै बसेका छन् । तर, बिडम्बना बेपत्ता पारिएका ती ३० व्यक्तिको भने अहिलेसम्म कुनै अत्तोपत्तो नै छैन् । बेपत्ता तथा छानबिन आयोगमा उजुरी दर्ता गरिएपनि राज्य र माओवादी कुनै पक्षले पनि जिम्मेवारी नलिएको परिवारको गुनासो छ ।

बाजुरामा बेपत्ता मध्ये राज्यपक्षबाट ११, माओवादी विद्रोही पक्षबाट १६ जना, माओवादी र राज्यपक्षबाट १ साथै जानकारी नै नभएका २ जनाको नाममा उजुरी परेको स्थानीय शान्ति समितिको कार्यालय बाजुराका प्रमुख कर्णबहादुर बुढाले जानकारी दिएका छन् । हालसम्म दुई जना बेपत्ताका परिवारले मात्र राहत पाएको सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्रबहादुर मल्लले बताएका छन् । बाँकीले आफन्त गुमाएको पीडाका साथै राज्यले गरेको बेवास्ता प्रति ठूलो चित्त दुखाइ छ । 

राहत पाउनेमा स्वामी कार्तिक खापर गाउँपालिका बडा नं ३ का टेकेन्द्रबहादुर शाही र हिमाली गाउँपालिका वडा नं ३ का जंगबहादुर रोकायाका परिवार रहेका छन् । बेपत्ता भएका परिवारलाई प्रति व्यक्ति १० लाख आर्थिक वर्ष २०७३ र ७४ मा राहत स्वरुप वितरण गरिएको स्थानीय शान्ति समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए ।

द्वन्द्वकालमा मृत्यु भएका नेपाली सेना, नेपाल प्रहरी र कर्मचारीका परिवारलाई प्रति मृतक १८ लाखका दरले करीब सात करोड ६३ लाख वितरण गरिएको प्रजिअ बरालको बताए ।

यसैगरी द्वन्द्वकालमा घरबार नै छाडेर विस्थापित २ हजार २ सय ८२ परिवारमध्ये आ.व २०७३ – ०७४ मा एक परिवारका प्रतिव्यक्तिले २५ हजारका दरले करीब ३ करोड ७३ लाख राहत दिइएको जिल्ला प्रशासन कार्यालय बाजुरामा अभिलेख रहेको छ । प्रतिपरिवार प्रतिव्यक्तिका दरले रकम हस्तान्तरण गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराका लेखापाल लालबहादुर विष्टले बताए ।

विस्थापित मध्येका एक हजार ९०५ परिवारले पुनःस्थापनाका लागि रकम लिएको र बाँकी ३७७ परिवारलाई पुनःस्थापना गर्नका लागि बजेट अपुग भएपछि ९१ लाख ५० हजार माग गरिएको प्रशासनका लेखापाल लालबहादुर बिष्टले जानकारी दिएका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?