शिक्षकहरु सक्रियतापूर्वक राजनीतिक रुपान्तरणको काममा लाग्नुपर्छ : अध्यक्ष प्रचण्ड

लोकपथ
273
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकहरुलाई राजनीति गर्न नदिए नेपालको पार्टी प्रणाली नै कमजोर हुने बताएका छन् । मंगलबार पार्टी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको एकताको दोस्रो राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले शिक्षकहरु सक्रियतापूर्वक राजनीतिक रुपान्तरणको काममा लाग्नुपर्ने बताएका हुन् ।

नेपालका सबै पार्टीलाई जनतामा स्थापित गराउने काम शिक्षकहरुले नै गरेको भन्दै उनले शिक्षकहरुले राजनीति गर्नु हुँदैन भन्नु पार्टी प्रणालीलाई नै कमजोर पार्ने नीति भएको बताए । उनले शिक्षकहरुलाई प्राविधिक रुपमा अप्ठ्यारो नपर्नेगरी राजनीति गर्ने वातावरण बनाइने पनि बताए ।

अध्यक्ष दाहालले शिक्षकहरुलाई राज्यले अन्याय गरेको पनि बताए । शिक्षकहरुलाई राज्यले विभेदमा पारेका कारण शिक्षकहरुले आन्दोलन गर्नुपरेको र क्रान्तिकारी हुनुपरेको उनको भनाइ छ ।

उनले भने – ‘हामीकहाँ शिक्षक भनेपछि सबभन्दा बढी विभेदमा पारिएको बौद्धिक जमातजस्तो मानिन्छ । यो नेगेटिभ कुरा हो, यसलाई हामीले पोजेटिभमा बदल्नु छ । तर यो नेगेटिभ भित्रको हामीलाई पोजेटिभ के भयो भने त्यसै भएको हुनाले शिक्षक मजदुर, किसानसँग एकाकार भएर मजदुर किसानको आन्दोलनलाई साथ दिने, राजनीतिक क्रान्तिलाई साथ दिने हुन गएको कारणपनि त्यही हो । नत्र अमेरिकाको जस्तै शिक्षकहरु तपाईहरु पनि भएको भए के को आन्दोलनकारी हुने ? तपाईहरुमाथि राज्यले अन्याय गरेको छ । त्यसकारण तपाईहरु क्रान्तिकारी हुनुभएको । तर सधैँ यही हुनुपर्छ भन्न खोजेको होइन मैले त्यो चाहीँ नबुझ्नु होला ।’

अध्यक्ष दाहालले मधेशमा माओवादीको पक्षमा जनलहर आएको दाबी गरे । उनले महन्थ ठाकुर र राजेन्द्र महतोले एमाले अध्यक्ष केपी ओलीसँग आत्मसमर्पण गरेर माओवादी केन्द्रलाई गुन लगाएको बताए । उनले एमाले अध्यक्ष केपी ओली मधेशी जनताको आत्मसम्मान र पहिचानविरोधी खलनायक भएको आरोप समेत लगाए ।

अध्यक्ष दाहालले अहिले माओवादी केन्द्रको भागमा शिक्षा मन्त्रालय रहेको भन्दै शिक्षकहरुको समस्या समाधानका लागि आफ्नो पार्टीले सकेको काम गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?