नेपालकै सवैभन्दा ठूलो सिमेन्ट उद्योगले उत्पादन थाल्यो

नवलपरासी : पूर्वी नवलपरासीमा स्थापना भएको नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योग 'होङ्सी शिवम सिमेन्ट' ले व्यावसायिक उत्पादन थालेको छ । 

नेपालको शारदा समूह र चीनको होङ्सी समूहको करीब ३६ अर्ब रूपैयाँ लगानीमा नवलपरासीको सर्दीमा स्थापना गरिएको उद्योगले अार्इतबारदेखि व्यवसायिक उत्पादन शुरु गरेको हो । 

उद्योगबाट पहिलो चरणमा दैनिक ६ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य रहेको छ । पूर्ण क्षमता १२ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखिएको उद्योगले जनाएको छ । 

सिमेन्ट उद्योगबाट उत्पादित सिमेन्ट वा ब्राण्डको नाम ‘होङ्सी’ राखिएको छ । अहिलेसम्म नेपालमा सबैभन्दा बढी अर्घाखाँची सिमेन्टले तीन हजार टन सिमेन्ट उत्पादन गर्दै आएको थियो । 

होङ्सी शिवम सिमेन्टका सञ्चालकमध्येका सतिश मोरका अनुसार अबको केहि दिनमै होङ्सी सिमेन्ट बजारमा अाउनेछ । उद्योगका अनुसार ठूलो क्षमताको सिमेन्ट उत्पादन शुरु भएकाले अब राम्रो र बलियो बजार बन्ने छ । उद्योगमा करीब एक हजार कामदार कार्यरत छन् । 

कारखाना पूर्णरुपमा सञ्चालनमा आएपछि दैनिक एक हजार नेपाली र ४०० भन्दा बढी चिनियाँ कामदारले समेत रोजगारी पाउने कम्पनीले जनाएको छ । कारखानाले सिमेन्ट उत्पादनमा प्रयोग हुने ऊर्जा नै प्रयोग गरेर थप १२ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसमेत राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?