यसरी विश्वस्त भए दाहाल, यस्तो छ पार्टी एकताका इन्साइड स्टोरी

काठमाडौँ — गत साता माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल भन्दै थिए, ‘पार्टी एकता हुने र नहुने ५०/५० प्रतिशत छ ।’ उनलाई आशंका थियो, एमालेमा माओवादी विलय गराउने प्रपञ्च हुन्छ कि ? एकता भइसकेपछि बहुमतको छडी लाग्छ कि ? जनयुद्धको इतिहासमा कालो बादल मडारिन्छ कि ? एकतामा विभिन्न शक्तिको चलखेल हुन्छ कि ?
तत्कालीन एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले कटाक्षका शब्द प्रयोग गर्न थालेकाले पनि दाहाल सशंकित थिए । एकतामा ‘ब्रेक’ लागेपछि दाहालले नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई र संघीय फोरम अध्यक्ष उपेन्द्र यादवसँग छलफल अघि बढाए । ओलीले पनि केही दिन एकतामा चासो दिएनन् । एकताको गाडा निकै अघि बढेर पनि गत साता ठूलै ब्रेक लागेको थियो ।

यसबीच एकताका लागि निरन्तर खटिएका एमालेका वामदेव गौतम, विष्णु पौडेल तथा माओवादीका नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मालगायतको सक्रियता बढ्यो । एमाले नेताहरू ओलीका दूत बनेर दाहालकहाँ र माओवादी नेताहरू ओलीकहाँ पुगेर एकता खल्बलिन नदिन कसरत थाले ।

दाहाल आफैं पनि चिन्तित थिए । उनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सन्देश पुर्‍याए, ‘पार्टी एकता भएन भने देश बर्बाद हुन्छ । मिल्छ भने केही सुझाव दिनुहुन्छ कि ?’ राष्ट्रपतिको सुझाव ओलीकहाँ पुगेको स्रोतको दाबी छ । दाहालले एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि जतिसक्दो छिटो एकताका लागि सक्रियता लिन आग्रह गरे । पछिल्लो समय ओलीसँग राम्रो सम्बन्ध भएका नेपालले ओलीलाई विश्वस्त पारेको स्रोतको भनाइ छ ।

सैद्धान्तिक रूपमा खास विवाद नभए पनि सांगठनिक रूपमा लचक भएर छिट्टै एकता गर्न ओली–दाहाल दुवैलाई दबाब बढिरह्यो । दुवै नेताका आशंका मेटाउन एमाले–माओवादीका अन्य नेताहरूले सूचना आदानप्रदान गरिरहे ।

त्यसो त ओली र दाहालबीच संवाद टुटिसकेको थिएन । पहिलो चरणको सहमति बन्यो– ओलीले दाहालसँग छलफल गरी सरकारका कामकारबाही अघि बढाउने । दाहालले ओलीप्रति बढी शंका नगर्ने ।

अनि मात्र एकताका लागि यो साता छलफल सुरु भयो । खासगरी केन्द्रीय र स्थायी समितिको विवाद मिलाउन दुवै नेताले दोस्रो तहका नेतालाई खटाए । माओवादीले भनेजस्तो बराबरीका आधारमा पनि भएन, एमालेले भनेजस्तो ७० र ३० प्रतिशतका आधारमा पनि भएन । एमालेको ५५ र माओवादीको ४५ प्रतिशत हाराहारी सहभागितामा संगठन बन्ने गरी सहमति भयो । ओली र दाहाल दुवै अध्यक्ष हुने र अन्य वरिष्ठ नेताहरूलाई उचित स्थान दिने सहमति बन्यो ।

दाहालका अधिकांश आशंकाहरू ओलीले मेटाइदिए । दाहाल पनि तत्कालै ओलीको वचनमा आश्वस्त भए । केन्द्रीय समिति आलोपालो चलाउने र महत्त्वपूर्ण निर्णयमा दुवै अध्यक्षको हस्ताक्षर गर्ने सहमति यसअघि नै भइसकेको थियो ।  आजको कान्तिपुर दैनिकमा गंगा बिसीले लेखेका छन् |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?