सडकमा दीपावली, बालुवाटारमा भोज

काठमाडौँ- राष्ट्रिय सभागृहमा एकताबारे नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बोल्दै गर्दा गेटमा दियो बाल्दै थिए युवासंघ केन्द्रीय सदस्य युद्धवीर पाण्डे । कम्युनिस्ट पार्टीका लागि विश्वमा नयाँ इतिहास कायम भएको भन्दै पाण्डेले भने, ‘यो निकै खुसीको क्षण भएकाले दीपावली मनाइएको हो ।’

नेकपा एमाले र नेकपा माओवादी केन्द्र विघटन गर्दै नेपाल कम्युनिस्ट पार्टी घोषणा गरिएको छ । चुनाव चिह्न सूर्य नै राख्नेगरी सहमति भएका कारण दीपावली पनि सूर्य चिह्नाकारमा नै दीप बालेर मनाइएको पाण्डे बताउँछन् ।

पाण्डे मात्र होइन एकता भएपछि देशैभरीका वामपन्थी कार्यकर्ता हौसिएका छन् । काठमाडौंलगायतका विभिन्न सहरमा बिहीबार साँझ दियो बालेर खुसी साटासाट गरे । एकता घोषणासभामा सहभागी भएका क्रान्तिकारी विद्यार्थी संघका पूर्वउपाध्यक्ष मदन चुडाल हर्षित मुद्रामा थिए ।कम्युनिस्ट पार्टी पुनर्गठन र ध्रुवीकरणमा अध्यक्ष पुष्पकमल दाहालको हिम्मतले नै काम गरेको बताउँदै उनले भने, ‘कम्युनिस्ट आन्दोलनमा लागेका देशभरीका युवा छरिएर होइन अब एकजुट भएर लाग्नुपर्ने हौसला मिलेको छ ।’
निर्वाचनमा एकतासम्म जाने घोषणा गर्दै गठबन्धन बनाउँदा यो चरणमा आइपुग्ने चुडालले पनि विश्वास गरेका थिएनन् । घोषणासभामा सहभागी भएका उनले थपे, ‘यति ठूलो शक्ति निर्माण सम्पन्न भयो, हाम्रा परिश्रमका लागि बधाई पनि पाएका छौं, दीपावली गर्नु स्वाभाविक हो, खुसी मनाउनुपर्छ ।’
उनी पनि दीपावलीमा सहभागी भए । एमाले–माओवादी भनेर चिनिने कार्यकर्ताहरूको समान परिचय बनेको छ । यसैले पनि साँझ विभिन्न जिल्लामा दीपावली मनाइयो । धादिङ, बुटवल, सुनसरी, मोरङलगायत देशैभरी दीपावली मनाइएको युवासंघ नेपालले जनाएको छ ।

सडकमा दीपावली मनाइरहँदा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भने रात्रिभोज चलेको थियो । एकीकृत पार्टीका केन्द्रीय सदस्यहरूका लागि प्रधानमन्त्री ओलीले रात्रिभोजको निम्तो दिउँसै दिएका थिए । प्रधानमन्त्रीले भोजको तयारी गर्न निर्देशन दिनासाथ दिउँसैबाट तयारी थालिएको थियो । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय ओली र दाहाल, सचिवालय सदस्यहरू, केन्द्रीय सदस्यहरू भोजमा सहभागी भए, आजको राजधानी दैनिकले खबर छापेको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?