गृहमन्त्री थापाले भने – सिण्डिकेटको अन्त्यपछि अव ठेकेदारको पालो

 काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सडक तथा पुल निर्माणको ठेक्का लिएर पनि निर्धारित समय अवधिभित्र काम सम्पन्न नगर्ने ठेकेदारहरुलाई कारवाहीको संकेत गर्नु भएको छ ।

ठेक्कापट्टा प्रक्रियाबाट सम्पन्न गरेका कामहरु पनि कमसल भेटिएमा सिधैं कारवाही हुन सक्ने भनाई गृहमन्त्री बादलको छ । कमसल काम गरेर आयोजना लथालिङ्ग बनाउने कार्यमा संलग्न ठेकेदारहरुको सूचि बनाउन निर्देशन समेत दिएका छन् ।

गृहमन्त्रालयमा आयोजित सम्वद्ध अधिकारीहरु संगको छलफलमा मन्त्री बादलले सडक र ट्राफिक व्यवस्थापनका विषयमा यसअघि गरिएका निर्णयहरुलाई कार्यान्वयन गर्न निर्देशन दिएका थिए ।

आफूले दिएका निर्देशन तथा निर्णयहरुको कार्यान्वयन फितलो देखिएको भन्दै उनले गृहमन्त्रालय, प्रहरी अधिकारी र जिल्ला प्रशासन कार्यालयका प्रमुखहरुसंग असन्तुष्टि व्यक्त गरेका थिए ।

उनले भने, ‘‘ त्यस्ता ठेकेदारहरुको सूचि बनाएर सच्चिन अल्मिेटम दिनुहोस, अल्टिमेटम दिएको समयभित्र पनि सच्चिएनन् भने जेल हाल्नुहोस् । ’’

गृहमन्त्रालय सम्हाले लगत्तै मन्त्री थापाले सडक दुर्घटना र ट्राफिक जाम न्युनिकरण तथा धुलो, धुँवा हटाउने विषयलाई प्राथमिकता राखेका थिए । गत फागुन २९ गते गृहमन्त्रालयमा बसेको बैठकले यातायात क्षेत्रको समस्या समाधानका लागि मन्त्रीको संयोजकत्वमा निर्देशन तथा अनुगमन समिति बनाइएको थियो ।

गृह मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव, सूचना तथा सञ्चार मन्त्रालयका सचिव, शहरी विकास मन्त्रालयमा सचिव,  सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव, प्रहरी महानिरीक्षक, काठमाडौँ र ललितपुर महानगरपालिकाका प्रमुख सदस्य रहने गरी निर्देशन तथा अनुगमन समिति गठन गर्ने निर्णय गरेको थियो ।

सर्वसाधारणको सहजताका लागि आफूले निर्णय गरेको दुई महिना बित्दा समेत अधिकांश निर्णयहरु हालसम्म पनि कार्यान्वयन नभएको पाईएपछि गृहमन्त्रीले ती निर्णयहरु तत्काल कार्यान्वयन गर्न सम्वद्ध पदाधिकारीहरुलाई निर्देशन दिएका हुन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?