लागूपदार्थ खैरो हिरोइनको कारोवारमा संलग्न दुई पक्राउ

काठमाडौं । बालाजु माछापोखरीबाट आइतवार झापाका दुई युवक अबैध लागूऔषध ब्राउन सुगर (खैरो हिरोइन ) २० ग्राम सहित पक्राउ परे ।
झापाबाट दुई ब्यक्ति लागूऔषध विक्री गर्न राजधानी पसेको विशेष सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त बालाजुले झापा सुरुङ्गा घरभइ हाल नयाँ वसपार्क गोंगबु वस्ने कर्णबहादुर साकी र रुद्रबहादुर सार्की पक्राउ पक्राउ गरेको हो ।
यी दुईजनाको पक्राउसंगै लागू औषध हिरोइनको थप नयाँ रहस्य पत्ता लागेको छ । करीव पाँचवर्षदेखि लागूऔषध कारोवारमा संलग्न यी दुईजनाले संगठित रुपमा भारतबाट लागूऔषध झिकाइ काठमाडौंमा विक्री वितरण गर्दै आएको प्रहरीको अनुसन्धानबाट देखिएको छ ।
प्रहरीको आँखा छल्न थोरै मात्रामा चुरोटको वट्टामा लुकाइ ल्याउने र त्यसमा पानी मिश्रण गरि लेदो आकारमा परिणत गरी विक्री गर्नेृ गरेको पाइएको छ ।
वृत्तका प्रमुख विश्वराज खड्काले विशेष सूचना भएको २४ घण्टा नवित्दै माछापोखरीस्थित नेपाल गुणस्तर तथा नापतौल विभागको कार्यालय अगाडिबाट उनीहरुलाई रंगेहात पक्राउ गरिएको जानकारी दिनुभयो ।
बालाजु प्रहरी वृत्तका अनुसार, चुरोटको वट्टामा लुकाई राखेको अवस्थामा उनीहरुको साथबाट २० ग्राम खैरो हिरोइन बरामद भएको छ ।
भारत सीमानासंग जोडिएका विभिन्न नाकाबाट लागूऔषध खरिद गरी काठमाडौंमा विक्री वितरण गर्दै आएको पाइएको छ । उनीहरुको साथबाट हिरोइन तौल गर्ने डिजिटल हाते मेसिन बरामद भएको छ ।
 एक ग्राम हिरोइनको पाँचहजारभन्दा बढी मूल्यमा विक्री हुने गरेको भनाई सार्की दाजुभाइको छ । हिरोइन विक्री गरेर कमाएको ७० हजार नगद, विभिन्न बैकको एटिएम कार्ट, सीमकार्डहरु र मोवाइलहरु बरामद भएका छन् ।
यी दुईजनाको पक्राउसंगै भारतबाट झापा हुदै काठमाडौं भित्रिने खैरो हिरोइनको ब्यापारिक रुट पत्ता लागेको भनाई प्रहरीको छ । यो समूहले भारतमा खैरो हिरोइनको कारखाना नै भएको बताएको छ ।
त्यस्तैं, २५ किलो चरेश सहित बालाजु वसन्तनगर गुम्वा अगाडिबाट दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा गोरखाका अमर तामाङ र धादिङका रणबीर तामाङ छन् ।
बा १ ज १३४९ नम्वरको ट्याक्सीमा खानतलासी गर्ने क्रममा ती दुई ब्यक्ति चरेश सहित पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?