उपत्यकामा सरकारी सहयोगमा ठूला बस चल्दै

काठमाडौँ, १ जेठ- सिन्डिकेट अन्त्यसँगै सरकारले काठमाडौंमा अत्याधुनिक बस चलाउन सहयोग गर्ने भएको छ । नगर विकास कोषको ऋण तथा अनुदानमा झिकाइएका १७ ठूला एवं अत्याधुनिक बस एक साताभित्र सञ्चालनमा आउनेछन् । बस सेवाका लागि कोषले नमुनाका रूपमा दुईवटा रुटमा अध्ययन गरेको छ । पहिलो चरणमा बालाजु–नयाँ बसपार्क–सामाखुसी–लैनचौर–मैतीदेवी हुँदै सिनामंगलसम्म चलाइनेछ, कान्तिपुरमा खबर छ  ।

ती रुटका ६१ टेम्पो तथा माइक्रोबस भने विस्थापित हुनेछन्। तिनका सञ्चालकलाई विशेष राहत प्रदान गर्दै उनीहरूकै संलग्नतामा कम्पनी खोली बस चलाउन लागिएको हो। तर ती टेम्पो तथा माइक्रोले सार्वजनिक यातायातका रूपमा चल्न पाउनेछैनन्।

सार्वजनिक यातायातलाई दीर्घकालीन, प्रविधिमैत्री र वातावरणमैत्री बनाउने जनाउँदै कोषले ५२ सिटे ठूला बसमा सहयोग गर्न लागेको हो। कोषका अध्यक्ष ध्रुव रिजालका अनुसार यस प्रयोजनका लागि दिगो सार्वजनिक यातायात प्रालि नामक कम्पनी स्थापना गरिएको छ। उक्त कम्पनीलाई कोषले ९५ प्रतिशत सहयोग उपलब्ध गराउनेछ, त्यसमध्ये ८० प्रतिशत ऋण र १५ प्रतिशत अनुदान हुनेछ।

काठमाडौं दिगो सहरी यातायात आयोजना (केएसयूटीपी) अन्तर्गतको सार्वजनिक यातायात सुधार कार्यक्रमले उपत्यकाका दुई रुटमा ठूला बस चलाउन १ वर्षअघि सम्भाव्यता अध्ययन गरेको रिजालले बताए। विभिन्न चरणमा यी रुटमा गाडी चलाउने तयारी भए पनि सिन्डिकेट हटाएको माहोलमा प्रक्रियालाई तीव्रता दिइएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?