काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि मंगलबार नयाँ दिल्ली प्रस्थान गरेका छन् ।
भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा उनी कात्तिक २३ देखि २६ गतेसम्मका लागि भारत भ्रमणमा प्रस्थान गरेका हुन्।
महारथी शर्मालाई नेपाली सेनाको मध्य एयर बेश, गौचरमा उनलाई बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाइ गरेका थिए ।
भ्रमणका अवसरमा प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
नेपाल र भारतबीच एक–अर्का मुलुकका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने अनुपम परम्परा छ । नेपालका प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई विसं २०२६ मा पहिलो पटक भारतीय सेनाको मनार्थ महारथीको दर्जाबाट विभूषित गरेको अभिलेख रहेको जनाएको छ ।
नयाँ दिल्ली भ्रमणका क्रममा प्रधानसेनापति शर्माले समकक्षी जनरल नरवणेलगायत भारतीय सेनाका उच्च पदस्थ अधिकारीसँग समेत भेटवार्ता गर्नेछन् । उनले आजै भारतीय रक्षा सचिव अजय कुमार, भारतीय चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत, भारतीय सेनाध्यक्ष जनरल एम एम नरवणे र भारतीय वायु सेनाध्यक्ष एयर चिफ मार्शल भि आर चौधरीसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
प्रधान सेनापति शर्माको भारत भ्रमणको अवधिभर बलाधिकृत रथी बालकृष्ण कार्कीले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने सेनाले जनाएको छ। शर्मा सहितको भ्रमणदल कार्तिक २६ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया