काठमाडौं, ३० बैशाख-भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौं कलाको महाकुम्भ भएको बताएका छन् । शनिबार राष्ट्रिय सभागृहमा महानगरले आयोजना गरेको नागरिक अभिनन्दन समारोहमा, अभिनन्दन र काठमाडौं नगरको साँचो ग्रहण गर्दै प्रधानमन्त्री मोदीले अनुपम विशेषता भएको नगरसँग भारतको गहिरो नाता रहेको बताएका हुन् ।
प्रधानमन्त्री मोदीले काठमाडौंं काष्ठकलायुक्त, भक्तपुर भव्य, ललितपुर ललितकलायुक्त भएको बताए । विश्वका हरेक देशसँग भाइभाइ र बन्धुत्वको नाता राख्ने भारतको विदेश नीति भएको उनले बताए ।
‘नेपाल त छिमेकी मुलुक हो, यसकारण पनि नेपालको समृद्धिमा भारत सदैव सहयोग गर्न तत्पर छ,’ मोदीले भने, ‘आवश्यकताका आधारमा नेपालले अघि सारेका कामप्रति भारतको सधैं सहयोग रहन्छ ।’
दुईदिने नेपाल भ्रमणका क्रममा शनिबार काठमाडौं महानगरपालिकाले प्रदान गरेको नागरिक अभिनन्दन ग्रहण गर्दै उनले काठमाडौं उपत्यकाको कला, संस्कृति र रहनसहनको लामो व्याख्या गरेका हुन् । उनले भने, ‘मलाई काठमाडौं र नेपालले सधैं आकर्षित गर्छ किनकि यो सहर जति गहन छ, उति नै गतिमान छ, काठमाडौं हिमालयको काखमा बसेको एक अनमोल रत्न हो ।’
अर्कोपटक नेपाल आउँदा बुद्धको जन्मभूमि लुम्बिनी पुग्ने वाचा गरेका मोदीले थपे, ‘यसपटकको भ्रमणमा जनकपुर, मुक्तिनाथ र पशुपतिनाथको दर्शन गर्ने अवसर पाएँ, अब जहिले नेपाल यात्राको अवसर मिल्छ, म समय निकालेर बुद्धको जन्मस्थल लुम्बिनी जान्छु ।’ उनले नेपाल आफ्नो प्राथमिकता र आवश्यकतानुसार अगाडि बढोस् भनी शुभकामनासमेत दिए । आफूले निकै जिम्मेवारीसाथ यसो भनेको भन्दै मोदीले जोडे, ‘तपाईंहरूको सफलताका लागि भारत सधैं नेपालको साथमा र काँधमा काँध मिलाएर हिँड्न तयार छ ।’ उनले नेपालको सफलता नै भारतको सफलता र नेपालको खुसी नै भारतको खुसी भएको बताए । पशुपतिनाथ, बौद्ध, स्वयम्भू, वसन्तपुरको काष्ठमण्डपदेखि नागार्जुन र शिवपुरी वन, बाग्मती नदीको मुहानसम्मका विशेषताका विषयमा मोदीले चर्चा गरे ।त्यस्तै, धार्मिक आध्यात्मिक विषयदेखि विकास र समृद्धिको प्रसंग उठाएका उनले देशदेशबीचको सम्बन्धदेखि नागरिकनागरिकबीचको सम्बन्धका विषयमा समेत चर्चा गरे । भूकम्पको समयमा नेपालीले सहेको दुःख र दुःखका समयमा देखाएको धैर्यतादेखि भारतले प्रक्षेपण गरेको भूउपग्रहमार्फत छिमेकीलाई पुग्ने लाभसम्मका विषयमा बोलेका उनले थपे, ‘त्यसबेला मैले यही मञ्चमा उभिएर आपसी सौहार्दताका विषयमा बोलेको थिएँ, त्यसमा अहिले पनि भारतको अडान फेरिएको छैन ।’
काठमाडौं उपत्यकाको विषयमा चर्चा गर्दै भारती प्रधानमन्त्री मोदीले जोडे, ‘जब म काठमाडौंको विषयमा सोच्दछु, त्यसबेला जुन छवि मेरा आँखामा आउँछ, त्यो सहरको मात्रै होइन, भौगोलिक अवस्थाको मात्रै पनि होइन, त्यो त हाम्रो छिमेकी मुलुक नेपालको राजधानी पनि हो ।’
उनले भगवान गौतमबुद्ध जन्मेको देशको राजधानी भएको समेत बताए । उनले काठमाडौंलाई सगरमाथाको देश र रातो गुराँसको राजधानी मात्र नभएर काठमाडौंं शुद्ध संसार भएको बताए, राजधानी दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया