काठमाडौं । तिहारपछि अदालत खुलेको पहिलो दिन सोमबार पनि कानुन व्यवसायीहरुले आन्दोलन जारी राखेका छन् ।
आज पनि सर्वोच्च परिसरमा आन्दोलनमा उत्रिएका कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिएसम्म आफूहरुको आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।
नेपाल बार एसाेसिएसनले सर्वोच्च अदालतको प्राङ्गनमा सोमबार पनि आयोजना गरेको धर्ना कार्यक्रममा सहभागी भएका कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबराले अब पनि राजीनामा नदिए देशभरका कानुन व्यवसायीहरुको आन्दोलनको सामना गर्न तयार हुनुपर्ने बताए ।
नेपाल बार एसोसिएसनका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले प्रधानन्यायधीश जबराले राजीनामा नदिएसम्म आफूहरुको आन्दोलन जारी राख्ने बताए । उनले प्रधानन्यायाधीश जबरालाई अब पनि राजीनामा नदिए देशभरका कानुन व्यवसायीहरुको आन्दोलनका सामना गर्न तयार रहन चेतावनी दिए ।
उपाध्यक्ष भट्टराईले भने, ‘हाम्रो अहिलेको माग भनेको प्रधानन्यायाधीशको राजीनामा हो । कुनै पनि हालतमा नेपाल बार एसाेसिएसन यो मागबाट बाहिरिनेवाला छैन । नेपाल बार ब्याक हुनेवाला छैन । र देशभरका कानुन व्यवसायीहरु आन्दोलित हुनुपर्ने अवस्था आयो भने त्यो परिस्थितिको सामना गर्न प्रधानन्यायाधीश तयार हुनुपर्नेछ ।’
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले न्यायालय समाप्त हुन लागेकाले प्रधानन्यायाधीश जबराको राजीनामा माग्न बाध्य हुनुपरेको स्पष्ट पारे । उनले न्यायपालिकालाई संकटबाट बचाउन प्रधानन्यायाधीशले राजीनामा दिनुको विकल्प नभएको बताए ।
वरिष्ठ अधिवक्ता त्रिपाठीले भने, ‘आज न्यायपालिका प्रधानन्यायाधीशका कारण संकेटमा परेको छ । न्यायपालिकामा हिजो समस्या थियो । तर आज न्यायपालिकामा संकट आएको छ । विवाद पहिलो पनि थियो । तर उहाँले संकट निम्त्याउनु भयो । न्यायपालिका समाप्त हुने विन्दुमा पुगेको छ । आज प्रधानन्यायाधीशजीले के भन्नु हुन्छ भने–मलाई संवैधानिक प्रक्रियाबाट हटाऊ । तर म प्रधानन्यायाधीशजीलाई प्रश्न गर्न चाहन्छु–उहाँले संविधानले तोकेको आफ्नो न्यूनतम केही भूमिकाम निर्वाह गर्नुभएको छ ? के आज उहाँले आफ्नो न्यायपालिकालाई नेतृत्व प्रदान गर्न सक्नु भएको छ ? आज उहाँको नेतृत्व सम्पूर्ण रुपमा असफल भएको छ । आज उहाँकै कारणले इजलास बस्न सकेको छैन । न्यायिक प्रक्रिया नै अवरुद्ध भएको छ । त्यसको सबैभन्दा ठूलो कारण उहाँ आफैँ हुनुहुन्छ । प्रधानन्यायाधीशका कारणले गर्दाखेरी यो न्यायपालिकामा सबैभन्दा ठूलो खतरा प्रधानन्यायाधीशको आचरणको कारण भएको छ । यो नेपालको न्यायिक इतिहासमै दूर्भाग्यपूर्ण कुरा हो ।’
त्यस्तै नेपाल बार एसाेसिएसनका पूर्वकेन्द्रीय सदस्य रमनकुमार कर्णले न्यायालयलाई बचाउनका लागि पनि प्रधानन्यायाधीश जबराले राजीनामा दिन ढिलाई गर्न नहुने बताए । उनले प्रधानन्यायाधीश जबरा रहुन्जेल न्यायालय चल्नै नसक्ने दाबी समेत गरे ।
कर्णले भने, ‘हामी प्रधानन्यायाधीशको राजीनामा माग गरेर निरन्तर आन्दोलनमा छौं । प्रधानन्यायाधीशको राजीनामा वकिलले माग गर्नु निश्चय नै दुःखद् कुरा हो । तर बारले माग गरिसकेपछि प्रधानन्यायाधीशले राजीनामा नदिनु त्योभन्दा पनि दुःखद कुरा हो । प्रधानन्यायाधीशले यो बुझ्नुपर्छ कि बार किन तपाईँको राजीनामा माग गर्न बाध्य भयो, विवश भयो ? बार र बेन्ज दुवैले तपाईँको राजीनामा माग गरिरहेका छन । यस्तो अवस्थामा तपाईँसँग राजीनामाको विकल्प छैन । राजीनामा दिनुस् । मार्गप्रशस्त गर्नुस् । तपाईका लागि सबैभन्दा यही राम्रो हुन्छ । यो तपाईँको भलोको लागि होइन । आम नेपाली नागरिकको न्यायको लागि माग गरिएको हो । यो न्यायिक संस्थाका लागि तपाईँको राजीनामा माग गरिएको हो । तपाईँ रहुन्जेल अब यो संस्था चल्न सक्दैन । किनभने हिजो केही व्यक्तिहरु विवादित थिए । आज यो संस्थामाथि प्रश्न उठिसकेको छ । यो संस्थाको बचाउनको लागि तपाईँले राजीनामा दिनु पर्यो ।’
नेपाल बार एसोसिएसनले मंगलबार (भोली) बिहान साढे १० बजे पनि सर्वोच्च अदालतको प्राङ्गणमा धर्ना दिने जनाउँदै त्यसमा सहभागी हुन कानुन व्यवसायीहरुलाई आह्वान गरेको छ ।
प्रधानन्यायाधीशले राजीतिक भागबण्डा खोजेको लगायतका आरोपहरु लगाउँदै कानुन व्यवसायीहरुले कार्तिक १४ गतेबाट निरन्तर आन्दोलन गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया