सिसडोलमा फोहर व्यवस्थापन कार्य कठिन बन्दै

लोकपथ
42
Shares

काठमाडौं । लामो समयदेखि फोहर वयवस्थापन गरिदैँ आएको सिसडोलमा आगामी दिन थप कठिन हुने भएको छ ।

उक्त स्थानमा विगत १४ वर्षदेखि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन हुँदै आएको छ । कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठसहितको टोली आज सिसडोलको स्थलगत अनुगमनमा पुग्दा आगामी दिनमा समस्या थपिने देखिएको बताउछन् । उक्त स्थानमा यस अघि पनि पटक–पटक फोहरको ढिस्कोलाई माटोले पुरेर व्यवस्थापन गरिएको थियो । आउने दिनमा त्यो अवस्था नरहेको प्रमुख श्रेष्ठको भनाइ छ ।

सिसडोलभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा निर्माणाधिन दीर्घकालिन ल्याण्डफिल साइटको काम अझै पुरा नहँुदा थप समस्या भएको कामपाको भनाइ छ । साघुरो ठाँउ लामो समयसम्म फोहर व्यवस्थान गर्दा हरेक वर्ष वर्खाको समयमा समस्या आउने गरेको छ भने स्थानीयबासीले पनि समय समयमा अवरोध गर्दै सिसडोलको विकल्प खोज्न दबाब दिइरहेका छन् ।

निर्माणाधिन बञ्चरेडाँडाको काम एक वर्षमा सम्पन्न गर्ने भन्दै २०७६ वैशाखबाट शुरु गरेपनि हालसम पहिलो सेलको मात्र काम सकिएको छ । दीर्घकालिनरुपमा फोहर राख्ने स्थानको समस्या भएको भन्दै कामपाले निर्माणको काम सक्दो छिटो सकेर हस्तान्तरण गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ ।

बञ्चरेडाँडामा दीर्घकालीन फोहर विसर्जन स्थान (स्यानिटरी ल्याण्डफिल साइट) निर्माण गर्न विसं २०७६ वैशाख २२ गते एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोशी एण्ड न्यौपाने जेभी (उपक्रम)सँग ठेक्का सम्झौता गरिएको थियो । सम्झौताअनुसार निर्माणको सम्पूर्ण काम गत वैशाखमा नै सकिनुपर्ने भए पनि पूर्णरूपमा काम अझै सकिएको छैन ।

सहरी विकस तथा भवन निर्माण विभागले महानगरलाई दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा पहिलो ‘सेल’ निर्माणको काम पूरा भएकाले फोहर व्यास्थान गर्न सकिने जानकारी गराइसकेको बताएको छ । विभागले गत भदौको तेस्रो साता सो सेल निर्माणको काम सम्पन्न गरेको हो । हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिक टन फोहर सिसडोलमा विसर्जन हुन्छ । यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिकटन फोहर निस्किने गर्दछ । हाल उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?