खानाले स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्छ । कैयौँपटक हामीले गलत या असन्तुलित खानाको प्रयोग गरेका पनि हुन सक्छौँ । चेतनाको अभाव वा अधुरो जानकारीका कारण यस्तो समस्या हुन्छ । यस्तो भएमा शरीरलाई पूर्ण रूपमा पोषण नमिल्न सक्छ । यस्तो अवस्थामा शरीरले विभिन्न प्रतिक्रिया देखाउने गर्छ । यस्ता संकेतलाई बेवास्ता गर्नुहुँदैन । नत्र भविष्यमा गम्भीर असरको सिकार बन्नुपर्ने हुन्छ । त्यसैले शरीरमा आउने विभिन्न परिवर्तनअनुसार खानपानको शैली पनि परिवर्तन गर्नुपर्ने हुन्छ ।
श्वास गनाएमा
यदि तपाईंले फेर्ने श्वासमा हल्का पनि गन्ध आएमा जान्नुपर्छ कि शरीरमा उचित आहार लिनुभएको छैन । शरीरमा पर्याप्त मात्रामा ग्लुकोजको मात्रा नपुग्दा शरीरमा भएको फ्याट क्षयीकरण भएर जान्छ । यस्तो वेला शरीरले एसिडको निर्माण गर्छ । र, त्यो श्वास गनाउने समस्या हुन थाल्छ । यद्यपि, अन्य विकार पदार्थको प्रयोगले पनि श्वास गनाउने समस्या हुन जान्छ ।
कपाल झरेमा
यदि तपाईंको कपाल एकाएक झर्न थालेमा सबैभन्दा पहिले जाँच गराउन जरुरी हुन्छ । कपाल झर्नुको कारण थाइराइडलगायत पनि हुन सक्छ । यदि स्वास्थ्य अवस्था ठीकै भएमा सम्झनुपर्छ कि असन्तुलित खानाका कारण पनि यस्तो भएको हुन सक्छ । यस्तो भएमा खानामा सन्तुलन ल्याउनुको विकल्प हुँदैन ।
ओठ सुकेमा
निरन्तर ओठ सुक्खा रहने र फुट्ने समस्या निम्तिएमा पनि खानामा विशेष ध्यान दिन आवश्यक हुन्छ । आइरनको कमी हुँदा पनि शरीरले यस्ता संकेत दिन्छ । यस्तो अवस्थामा खानामा पालक र हरियो तरकारी प्रयोग गर्नुपर्छ । सन्तुलित खानाका साथै पानी र जुसको पनि पर्याप्त प्रयोग गर्न
आवश्यक हुन्छ ।
नङ भाँचिएमा
शरीरमा हुने प्रोटिन र म्याग्नेसियमको कमीका कारण नङ कमजोर हुन्छ । परिणाम नङ भाँचिनेदेखि विभिनन समस्या देखिन थाल्छ । यसकै कारण छालामा समेत विभिन्न समस्या आउँछ । नङमा सेतो दाग देखिन थाल्छ । यस्तो समस्या आएमा तत्काल चिकित्सकसँग परामर्श लिन जरुरी हुन्छ ।
कब्जियत भएमा
पछिल्लो समय धेरै मानिस पेटको समस्याबाट ग्रसित हुन्छन् । र, धेरैलाई देखिएको समस्या भनेको कब्जियत हो । जसको मुख्य कारण नै खानपान हो । त्यसैले खाद्यपदार्थको सन्तुलन मिलाउन जरुरी हुन्छ । यसमा पानी पनि आवश्यक मात्रामा प्रयोग गर्नुपर्छ । यस्तो समस्याबाट बच्न मौसमी फलफूल र सागसब्जीसमेत नियमित प्रयोग गर्न आवश्यक हुन्छ ।
थकाइ लागेमा
तपाईंले समयमै खानुभएको छ तर शरीर थकित हुने र निष्क्रिय रहने समस्या छ भने एकपटक सोच्न जरुरी हुन्छ । यस्तो भएमा डाइटमा विशेष ख्याल राख्नुपर्छ । डाइटको सन्तुलन नमिलेमा काम गर्न मन नलाग्नेजस्ता समस्या पनि आउने गर्छ । यस्तो अवस्थामा पर्याप्त मात्रामा कार्बोहाइड्रेट लिन जरुरी हुन्छ ।
छालासम्बन्धी समस्या
छालामा लगातार पिम्पल्स आउने, फुस्रो, रुखो हुने, रङ उड्नेजस्ता समस्या धेरैमा देखिने गर्छ । असन्तुलित खानपान र विभिन्न तत्वको कमीले पनि यस्तो समस्या निम्तिन्छ । भिटामिन, मिनरल्स र फ्याटी एसिडको कमीका कारण छालासम्बन्धी यस्ता समस्याको सामना गर्नुपर्छ । त्यसैले छालालाई स्वस्थ राख्न खानपानमा उचित परिवर्तन ल्याउन जरुरी हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया