उदीयमान शक्तिको मिलन: के गर्दै छ नेपाल ?

 

काठमाडौँ-  २१ औं शताब्दी अब एसियाको नेतृत्वमा रहने ‘भाषा’ लाई पछिल्ला दुई कूटनीतिक घटनाक्रमले आशामा परिणत गरिदिएको छ । चीन र दक्षिण कोरियामा भएको फरक–फरक तर महत्त्वपूर्ण राजनीतिक घटनाक्रमले यस्तो आशा जगाएको हो ।

विश्व राजनीतिको नेतृत्व फेरि एक पटक एसियाले लिने सशक्त संकेतका रूपमा यो घटनाक्रमलाई लिइएको छ । केही महिनायता यस क्षेत्रमा अप्रत्याशित कूटनीतिक घटनाक्रम देखा परिरहेको छ । कूटनीतिक भेटघाट र छलफलले तीव्रता पाइरहेको छ । ६ दशकभन्दा अघिदेखि शत्रुवत व्यवहारमा रहेका उत्तर र दक्षिण कोरियाका नेताहरूले संसारलाई नै आश्चर्यमा पारे । दक्षिण कोरियामा नयाँ राष्ट्रपति मुन जे इन आएदेखि नै आकलन गरिएअनुरूप दुई कोरियाली नेताको अंगालोले विश्वलाई सकारात्मक सन्देश दिएको छ । कैयन् शक्ति मुलुकलाई भने अलमलमा पारिदिएको छ । लगातार आणविक परीक्षण गर्दै अमेरिकालाई आणविक प्रहारको समेत धावा बोल्दै आएको उत्तर कोरियाले अर्को महिनादेखि आणविक परीक्षण नगर्ने घोषणा मात्र गरेन, अब आपसी युद्धसमेत कहिल्यै नगर्ने वाचा दुवैले गरे । जुन अपेक्षाभन्दा निकै अगाडिको विषय थियो ।
यससँगै एसियाकै ठूला र उदीयमान शक्ति मुलुक भारत र चीनले आपसी मतभेद हटाउँदै अप्रत्याशित रूपमा सम्बन्ध सघन पारेका छन् । सहकार्य बढाउँदै लैजाने सहमति गरेका छन् । कोरियाली प्रायद्वीपपछि भारत र चीनबीच यस्तो परिघटना देखा परेको हो । यी दुई घटनाले विश्व राजनीति र अर्थव्यवस्थालाई समेटेर शक्तिसन्तुलन गर्ने संकेत मात्रै होइन, विश्व नेतृत्वका लागि सहकार्य गरेर अघि बढ्ने समझदारी भएको सन्देशसमेत दिएका छन् ।

भारत र पाकिस्तानबीच पनि यस्तै सकारात्मक सहकार्यको अवस्था आए एसिया साँच्चै अघि बढ्ने अड्कल गर्न थालिएको छ । पछिल्ला दुई घटनाले पश्चिमा शक्तिलाई ठूलो धक्का दिएको हुन सक्छ, जसले उनीहरूको प्रभाव नेपालजस्तो बीचमा रहेका मुलुकमा बढ्न सक्ने आकलन कूटनीतिज्ञहरूको छ ।

यही विषयलाई लिएर परराष्ट्र अधिकारीहरूले अनौपचारिक छलफलसमेत गरेका छन् । नेपाल यतिबेला दुवै मुलुकको सहयोगमा विकास प्रक्रिया अघि बढाउन उद्यत छ । सरकारले चिनियाँ सहयोगमा निर्माण गरिने परियोजनाहरूको छनोट गरिरहेको छ भने भारतसँग भएका सम्झौतालाई कार्यान्वयन तहमा लैजाने गरी काम अघि बढाएको छ । दुवैको नेतृत्वले यसै वर्ष नेपाल भ्रमण गर्ने परराष्ट्रमन्त्रीले प्रदीप ज्ञवालीले यसअघि नै बताइसकेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी २८ गते नेपाल आउँदै छन् भने चिनियाँ राष्ट्रपति सीको भ्रमण गराउन पनि नेपालले पहल गर्ने भएको छ । दुवै भ्रमणमा नेपालले आफ्नो विकासको छिमेकी मुलुकको सहकार्य खोज्ने छ । भारत र चीनको मिलन अनि नेपालले उनीहरूको सहकार्य खोजीले पश्चिमा शक्तिहरू उपेक्षित हुँदै जाने देखिन्छ । जुन नेपालका लागि राम्रो विषय नहुन पनि सक्छ । तर अहिले त्यही अवस्था देखिएको छ । उदीयमान शक्तिहरू र बलिया अर्थतन्त्र भएका मुलुकबीच सहकार्य हुँदा विश्व शक्ति एवं पश्चिमा शक्ति झस्कनु स्वाभाविक हो । उनीहरूलाई यसबाट ठूलो असर पर्न सक्ने देखिएको छ । यद्यपि कोरियाली घटनाक्रम भने अमेरिकी पकडअन्तर्गत नै भएको विश्लेषणसमेत गरिएको छ ।कान्तिपुर दैनिकमा खबर छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?