काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आउँदो शुक्रबार देखि (असोज २२) खसीबोकाको बिक्रि वितरण सुरु गर्ने भएको छ ।
कम्पनीले यस वर्षको दशैँका लागि २ हजार खसीबोका काठमाडौंमा ल्याउने तयारी गरेको छ । गत वर्ष एक हजारवटा खसीबोका र एक हजार वटा च्याङ्ग्रा बिक्री गरेको कम्पनीले यस वर्ष २ हजार वटा खसीबोका मात्रै विक्रि वितरण गर्न लागेको हो । कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्षको दशैंमा खसीबोका र च्याङग्रा बिक्री गर्दै आएको छ । तर, यस बर्ष च्याङ्ग्रा नपाइएको र पाइएको पनि मूल्य अत्याधिक बढेको भन्दै कम्पनीले च्याङ्ग्रा विक्रि वितरण नगर्ने बताएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी बागमती प्रदेश कार्यालयकी प्रमुख ज्ञानु थापाले घटस्थापनाको भोलीपल्ट देखि अर्थात असोज २२ गतेदेखि राजधानीमा खसिबोका विक्रि वितरण सुरु गर्ने जानकारी दिइन् । कम्पनीले दाङको तुलसीपुरबाट ८ सय वटा र हेटौडाबाट १२ सय वटा खसीबोका ल्याउने तयारी गरेको पनि उनले जानकारी दिइन् । कम्पनीले विगतमा निजी क्षेत्रले बेच्ने बजार मूल्यभन्दा प्रति किलो १० रुपैयाँ मूल्य घटाएर खसि बोका विक्रि गर्ने प्रमुख थापाले जानकारी दिइन् ।
कम्पनीले माग धान्नभन्दा पनि बजार मूल्य नियन्त्रणका लागि विगतमा झैं यसपटक पनि खसीबोका बिक्री गर्न लागेको बताएको छ । दशैंका बेला काठमाडौं उपत्यकामा खसीबोकाको ११ लाख किलोभन्दा बढी मासु खपत हुने अनुमान छ । चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि कम्पनीले सहुलियत पसल पनि सञ्चालनमा ल्याएको छ । कम्पनीले ३९ जिल्लाका ४३ आउटलेटबाट दैनिक उपभोग्य खाद्य सामग्रीहरुमा ५ देखि १० रुपैयाँसम्म छुट दिएर बिक्रि बितरण गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया