काठमाडौं । चलचित्र क्षेत्रमा फिल्मले जति व्यापार गर्छन्, त्यो भन्दा बढी व्यापार गरेको भनेर हल्ला फैलाइन्छन् । फिल्मले यति करोड कमायो, उति करोड कमायो भन्दै निर्माताले करोडका गफ लडाउँछन् । यो प्रवृत्तिले दर्शक त ठगिएका छन् नै अर्कोतिर निर्माता पनि घुमाउरो पाराले ठगिएका छन् ।
करोडौं खर्च गरेर निर्माण भएको चलचित्र सिनेमा घरमा त लाग्छ तर व्यापारिक रुपमा कति कमायो भन्ने यकिन आँकडा न निर्मातालाई थाहा हुन्छ, न त वितरकलाई नै थाहा हुन्छ । निर्माता तथा वितरकले विश्वासको भरमा आफ्नो फिल्मको कमाइ बुझ्दै आएका छन् ।
विश्वभर के चल्दै आइरहेको छ भने, सिनेमाले कति कमायो भनेर थाहा पाउन बक्स अफिस सिस्टम लागू गरिएको हुन्छ ।
नेपालमा यही बक्स अफिस लागू गर्नका लागि लामो समयदेखि बहस हुँदै आएको छ तर बक्स लागू हुन सकिरहेको छैन । एउटा फिल्मबाट कति कमायो भन्ने ठ्याक्कै जानकारी पनि निर्माताले पाएका हुँदैनन् । सिंगल थिएटरमा अझै पनि कागजी टिकट बेच्ने र त्यसैका आधारमा फिल्मको कमाई तुलना गरिने चलन छ भने मल्टिप्लेक्स हलले आफूले चाहेजस्तो इ–टिकेटिङ सिस्टम लागू गरिरहेका छन् ।
यसरी आफुखुशी लागू गरिएको बक्स अफिसले हल मालिकलाई त कति कमाइ भन्ने थाहा हुने नै भयो तर निर्माता तथा वितरकले यसबारेमा विश्वासको भरमा दिइएको विवरणलाई आधार मान्छन् ।
यता निर्माता या वितरकले विश्वासको भरमा टिकट विक्री भएको रकमको केही हिस्सा पाउने, अर्कातिर ठ्याक्कै कति टिकट विक्री भयो भन्नेबारे निर्मातालाई समेत थाहा नहुने भएपछि निर्माताले लामो समयदेखि उठाउँदै आएको बक्स अफिसको मुद्दाले न्याय पाउने छनक देखियो । तर, यतिबेला हलवाला (खासगरी मल्टिप्लेक्स हल) ले घुमाउरो पाराले बक्स अफिस लागू गर्न लागिएकोमा विरोध गरेका छन् ।
यतिबेला हलवाला (खासगरी मल्टिप्लेक्स हल) ले घुमाउरो पाराले बक्स अफिस लागू गर्न लागिएकोमा विरोध गरेका छन् ।
यस्तो किन त? केही निर्माता तथा निर्देशकले ती हलवालाले पहिलेजस्तो स्वतन्त्रता अब नहुने देखेर बक्स अफिसमा आलटाल गरेको बताउँछन् । तर निर्माता, वितरक तथा पुष्पाञ्जली हलका मालिक समेत रहेका गोपालकाजी कायस्थले बक्स अफिस लागू हुनु भनेको सरकार, निर्माता तथा वितरकका लागि समेत सही भएको बताउँछन् । ‘केही हलवालाले विरोध गरेजस्तो देखिएको छ, उहाँहरुको माग पनि के हो भने बक्स अफिसको केन्द्रीय सर्भर कहाँ राख्ने भन्नेमा विरोध गरिरहनुभएको हो, बक्स अफिस सिस्टमको विरोध गर्नुभएको हैन ।’, उनी अगाडि थप्छन्, ‘मेरा लागि त बक्स अफिस लागू हुँदा अझै ठीक छ किनकि, मेरै हलमा पनि म बस्न पाउँदिन । कति कमाइ भयो भनेर थाहा हुँदैन, बक्स अफिस लागू भयो भने व्यापारको पारदर्शिता त हुन्छ ।’
यता लामो समयदेखि विवादै विवादमा पौडी खेलिरहेको बक्स अफिस लागू गर्नुपर्छ भनेर यतिबेला चलचित्र विकास बोर्ड भने कसिएको छ । पूर्व बोर्ड अध्यक्षहरुले लागू गर्न नसकेको बक्स अफिस हल्लामै चल्छ र हल्लामै सेलाउँछ भन्ने धेरै हलवालालाई लागेको थियो ।
तर बोर्डकी अध्यक्ष निकिता पौडेलले अध्यक्ष भएपछि आफ्नो पहिलो प्राथमिकताका रुपमा बक्स अफिसलाई लागू गर्ने बताइन् । पहिलेजस्तै कुरामा सीमित हुन्छ भन्ने लागिरहेको बक्स अफिस जब लागू हुने निश्चित भयो, घुमाउरो पारामा हलवालाले यसको विरोध जनाउन थाले ।
बोर्डले यही भन्दै आइरहेको छ ।
यता बक्स अफिस लागू हुने पक्काजस्तै भएपछि मल्टिप्लेक्स हलका मालिक भने यसको विरोधमा उत्रेका छन् । उनले आफ्नो व्यवसायको हिसाब अरुलाई देखाउने मेकानिजमको विरोध गरेको बताउँछन् । बक्स अफिस लागू हुनुपर्छ भन्ने मान्यता र सोही अनुसार इ–टिकेटिङ सिस्टम पहिलेदेखि नै लागू गरेको बताउँछन् । ‘हामीले बक्स अफिसको विरोध गरेका हैनौं, हामीले त हाम्रो व्यावसायिक पारदर्शिता अरु व्यवसायीलाई दिइनुहुन्न मात्र भनेका हौं, विकास बोर्डलाई हामीले किन हाम्रो ताला चाँबी दिने?’, भाष्कर अगाडि थप्छन्, ‘हाम्रो व्यावसायलाई हेर्ने सरकारको अर्को निकाय पनि छ, हामीले सरकारलाई कर पनि तिरेका छौं ।’
हामीले बक्स अफिसको विरोध गरेका हैनौं, हामीले त हाम्रो व्यावसायिक पारदर्शिता अरु व्यवसायीलाई दिइनुहुन्न मात्र भनेका हौं, विकास बोर्डलाई हामीले किन हाम्रो ताला चाँबी दिने?
उनले विकास बोर्डले बक्स अफिसका नाममा आफ्नो व्यवसाय हेर्न खोजेको विकास बोर्डमा सबै व्यावसायी मात्र भएकाले आफूले यसको विरोध गरेको बताउँछन् । सेन्ट्रल सर्भर (केन्द्रीय सर्भर) आफूहरुले पनि हेर्न पाउने ठाउँमा राख्नुपर्ने उनको धारणा छ । उनका अनुसार, विकास बोर्डले गैरकानूनी रुपमा बक्स अफिस सिस्टम लागू गर्न लागेको छ ।
‘कानूनको विज्ञलाई सोध्नुभयो भने पनि अहिलेको कानूनअनुसार जसरी बक्स अफिसको पारदर्शिताको कुरा उठाइएको छ, त्यो गैरकानूनी हो, ठूलो व्यवसायमा त लागू भएको छैन भने हामीमा किन लागू गर्नुप–यो?’, उनी थप्छन्, ‘हामीले पहिले नै पारदर्शी छौं, एक रुपैयाँ पनि तलमाथि गरेका छैनौं, निरङ्कुशता लागू हुँदैन चाह्यो भने हामी तुरुन्तै हिसाब बुझाउन तयार छौं ।’
तर, प्रदर्शकले यसो भनिरहँदा निर्माताहरुले भने आफूहरु मारमा परेको बताउँदै आएका छन् । भाष्कर ढुंगाना आफ्नो हरेक शोका बारेमा वेबसाइटमै आउने भएकाले आफूहरु पूरै पारदर्शी भएको बताउँछन् । ‘विकास बोर्डले आफ्नो पावरको भरमा क्लिन चिटमार्फत पारदर्शिताको हिमायती हामी हौं भन्ने पार्न खोजेको छ, सरसर्ती हेर्दा हामी दोषीजस्तो देखिएपनि खेल अर्कै छ ।’
यता नेपाल चलचित्र निर्माता संघका अध्यक्ष समेत रहेका फिल्मकर्मी आकाश अधिकारीले कुनै समयक्रम अनुसार प्रविधि भित्रिएर त्यसले पारदर्शितामा भूमिका खेल्छ भने त्यो सही भएको बताउँछन् ।
‘नेपालभरीका हलबाट हामीले एसएमएस पठाएको भरमा विश्वास गर्नुपर्ने अवस्था छ, हलवाला र निर्माताबीच लामो समयदेखि नै अविश्वास छ, बक्स अफिस हलवाला, निर्माता र सरकार, सबैका लागि खुशीको कुरा हो’, उनी भन्छन्, ‘हामीले चाहेको के हो भने बक्स अफिस लागू हुनुपर्छ, सरकारकै मातहतमा भएपनि कुनै समस्या छैन तर सरोकारवालाले चाहेको बेलामा संसारको जुनसुकै कुनामा भए पनि वेबसाइटमार्फत हेर्न पाउनुप–यो, हामी कर तिर्न तयार छौं तर पारदर्शी हुनुप–यो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया