काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारविरुद्ध पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
जसमा १३ जना व्यक्ति र एक चाइनिज कम्पनीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उनीहरुमाथि ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १ सय ६० रुपैयाँ बराबर बिगो कायम गरिएको सहायक अख्तियारका प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिए ।
उनीहरुमाथि ठेक्का सम्झौताको प्रावधान विपरित ठेकेदार कम्पनीलाई करछुट दिएर आर्थिक अनियमितता तथा भ्रष्टाचार गरेको आरोप छ ।
अख्तियारका अनुसार मुद्दा दायर हुनेहरुमा तत्कालीन अर्थमन्त्री कार्कीसहित अर्थसचिव शंकर प्रसाद अधिकारी, तत्कालीन पर्यटन सचिव महेश्वर न्यौपाने, तत्कालीन सहसचिवद्वय सुरेश आचार्य र दुण्डुराज घिमिरे, पूर्वसचिव (तत्कालीन सहसचिव) केवल भण्डारी, नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जिव गौतम र निवर्तमान महानिर्देशक प्रदीप अधिकारी, उपसचिव युवराज पाण्डे, शाखा अधिकृत उर्मिला भण्डारी, इन्जिनियर योगेश अर्याल रहेका छन् । त्यस्तै निर्माण कम्पनी र निर्माण व्यवसायीहरुविरुद्ध समेत मुद्दा दायर भएको छ । जसमा चाइना सीएएमसी निर्माण कम्पनी लिमिटेड र त्यसका अध्यक्ष वाङ बो तथा प्रोजेक्ट म्यानेजर याङ झिङझाङ रहेका छन् ।
यो पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार भएकोविरुद्ध तेस्रो मुद्दा हो । यसअघि ०८२ साल मंसिर २१ गते मुद्दा दायर गरेको थियो ।
त्यसबेला अख्तियारले तत्कालीन मन्त्रीहरू भीम आचार्य, रामकुमार श्रेष्ठ, दीपक अमात्य, डा. रामशरण महत र पोस्टबहादुर बोगटी र अन्य १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
यसअघि प्रकाशित यो पनि…
पोखरा विमानस्थल घोटाला प्रकरणमा ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया