कार्यक्रममै मोहन बस्नेतले गरे नेतालाई गाली, जिल्ला सभापतिको आपत्ति (विज्ञप्तिसहित)

लोकपथ
329
Shares

काठमाडौं । नेपाली कांग्रेस सिन्धुपाल्चोकले पार्टीभित्रका नेताहरूले एकले अर्कालाई चरित्रहत्या गर्नेगरी बोलेका कुरामा आपत्ति जनाएको छ ।

सिन्धुपाल्चोकका सभापति विकास लामाले आज प्रेस विज्ञप्ति जारी गर्दै सभा नै आयोजना गरेर केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतलगायतका नेताहरूले आफ्नो टिमइतरका नेताहरूको मानमर्दन नै हुनेगरी चरित्रहत्या गर्ने कुरा आपत्तिजनक भएको जनाएका छन् ।

शनिबार सिन्धुपाल्चोकको क्षेत्र नम्बर १ मा केन्द्रीय सदस्य बस्नेतको प्रमुख आतिथ्यतामा ‘विपतिमा नेपाली कांग्रेसको भूमिका’ विषयक कार्यक्रममा बस्नेत टिमका नेताले आफूइतरका टिमका नेताहरूलाई तल्लोस्तरको गालीगलौज गरेका थिए ।

केन्द्रीय सदस्य बस्नेतले नेताहरू भोला बोहोरा, बालकृष्ण बस्नेतले जिल्ला सभापति विकास लामा, क्षेत्रीय सभापति आइतमान तामाङ, पूर्वसभापति भुपेन्द्र थापा, पूर्वसचिव कृष्ण न्यौपाने, नेविसंघ महामन्त्री बलदेव तिमल्सिना र तरुण दलका अध्यक्ष दार्जे लामालगायतलाई तल्लोस्तरको गालीगलौज गरेका थिए ।

बस्नेतले जिल्लाका दुवै क्षेत्रमा बाढीपीडितका लागि अन्तरक्रिया कार्यक्रम भनेर राखे पनि त्यहाँ पीडितका कुरामा छलफल समेत नभएको कार्यक्रममा सहभागीहरूले बताएका छन् ।

आफूइतरका नेताहरूलाई गाली गर्दै उनीहरूले असोज ५ सम्म मात्रै ती नेता हुने र त्यसपछि देखाइदिने धम्की समेत दिएका थिए ।

कार्यक्रम सुरु हुनुअघि नै तरुण दलका नेता दोर्जे लामा हाउडेको चरित्रहत्या गर्ने खालको पम्प्लेटहरू बजारभरि टाँसिएको थियो । बस्नेतइतर रहेका लामालाई आफ्नो टिममा आउन पटक–पटक आग्रह गर्दा पनि नआएपछि चरित्रहत्या गर्ने काम भएको बताइएको छ ।

लामा आफ्नो टिममा आए क्षेत्र र जिल्लामा समेत नेतृत्व लिने बस्नेतको दाउमा बाधा परेपछि उनी चरित्रहत्यासम्मका काममा उत्रिएका हुन् । स्थानीय निर्वाचनताका केन्द्रीय सदस्य रहेका बस्नेतले पार्टीमा इमान्दार रहेका कार्यकर्ताहरू पाखा लगाउँदै आफ्ना गोजीका कार्यकर्तालाई टिकट दिएपछि असन्तुष्टि जनाउँदै जिल्लाका तत्कालीन कांग्रेस नेता अमृत शेर्पा र तरुण दलका अध्यक्ष लामा एमाले प्रवेश गरेका थिए ।

अमृत अहिले पनि एमालेमै छन् भने दोर्जे तत्कालै कांग्रेस फर्किएका थिए । संघीय चुनावमा उठेका बस्नेतले आफू चुनावमा हार्ने अवस्था देखेपछि कार्यकर्ता तहमा राम्रो पकड भएका लामालाई कांग्रेसमै भित्र्याएका थिए ।

चार वर्षअघिको सोही कुरालाई आधार बनाउँदै कम्युनिस्ट चिनौँ भन्ने पोष्टर बनाई पदासीन तरुण अध्यक्षको चरित्रहत्या गर्ने काम गर्नु सिंगो कांग्रेसकै लज्जाको विषय बनेको छ ।

यस्तै केही दिनअघि मेलम्चीमा आयोजित एक कार्यक्रममा पनि बस्नेतले क्षेत्र नम्बर २ का आफूइतरका नेताको सत्तोसराप गरेका थिए ।

आन्तरिक प्रतिस्पर्धामा समेत आफ्नै पार्टीका नेता कार्यकर्तालाई निषेध गर्ने बस्नेत टिमको क्रियाकलापले भविष्यमा कांग्रेस कहाँ पुग्छ भन्ने कुराले आम कांग्रेसीहरूमा निराशा छाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?