चन्द्रागिरिमा असोज १ देखि विद्यालय खुलाइने

RSS
49
Shares

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकाले गत वैशाख दोस्रोदेखि महामारीका कारण बन्द रहेका विद्यालय अगामी असोज १ गतेदेखि खुलाउने भएको छ ।

नगरप्रमुखस्तरीय बैठकले जनस्वास्थ्यको मापदण्ड कायम गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको नगर शिक्षा अधिकृत सुदर्शन रिजालले जानकारी दिए । पन्ध्र वडा रहेको सो नगरपालिकाभित्र निजी र सामुदायिक गरी ८० विद्यालय छन् । काठमाडौंको गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाले विद्यालय सञ्चालन गरिसकेका छन् ।

असोज पहिलो सातादेखि विद्यालय खुलाइने

दमक । कोरोना महामारी कारण लामो समयदेखि बन्द रहेको दमकका विद्यालय आगामी असोजको पहिलो सातादेखि खुलाइने भएको छ ।

कोरोनाको जोखिम केही कम भएको जनाउँदै दमक नगरपालिकाले आफ्ना मातहतमा रहेका शैक्षिक संस्थालाई विद्यालय सञ्चालन गर्न निर्देशन दिएको शिक्षा शाखा प्रमुख दिनेश न्यौपानेले जानकारी दिए।

नगरपालिकाले विद्यालय सञ्चालनका लागि निजी तथा संस्थागत विद्यालयका प्रधानाध्यापकसँग सुुझाव माग गरेको थियो । सोही सुझावका आधारमा भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको उहाँले जानकारी दिए।

शाखा प्रमुख न्यौपानेले विद्यालय सञ्चालनसम्बन्धी कार्यविधि २०७७ अनुसार विद्यालय सञ्चालन गरिने बताए। कार्यविधिमा कक्षाकोठामा विद्यार्थी राख्दा अनिवार्य भौतिक दूरी कायम गराउनुपर्ने, मास्कको प्रयोग गराउनुपर्ने, विद्यालयका हरेक कक्षाकोठा अगाडि हात धुने व्यवस्था गरिनुपर्ने, भीडभाड र जम्मा हुन नदिन आलोपालो पद्धतिद्वारा पठनपाठन गराउनुपर्ने लगायतका छन् । यसका लागि नगरपालिकाले निरन्तर अनुगमन गर्ने पनि उनले बताए। जोखिमको अवस्था हेरेर विद्यालय कसरी सञ्चालन गर्ने वा बन्द गर्ने भन्नेबारेमा विद्यालय आफैँले पनि निर्णय लिन सक्ने पनि शाखा प्रमुख न्यौपानेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?