काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पार्टी फुट गराउनु गलत भएको बताएका छन् ।
प्रेस चौतारी नेपाल कास्की शाखाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले सङ्घर्षको इतिहास बोकेको पार्टी मजबुद बनाएर लैजानुको साटो फुटको बाटो रोज्नु कसैका लागि पनि हित नहुने बताए ।
पार्टीमा हुने वैचारिक मतभेद आपसी छलफल एवं अन्तरक्रियाबाट समाधान गर्न पार्टीभित्रै अन्तरसङ्घर्ष गर्नुपर्ने अवस्थामा समग्र कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने गरी फुटका अवस्थामा लगिएको उनको भनाइ छ ।
पार्टी एकता कार्यदलका सदस्यसमेत रहेका नेता पाण्डेले भने, ‘पार्टी एकताका सम्बन्धमा माधव नेपाल समूहले नै अघि सारेका छ बुँदालाई नै समेट्दै १० बुँदे खाका तयार गरिएको हो जुन बुँदामा माओवादी केन्द्रबाट एमालेमा आएका नेता कार्यकर्तालाई पनि समेटेको छ । दश बुँदेलाई पनि आत्मसात् गर्न नसकी माधव नेपाल समूहले पार्टी फुटको अवस्थामा पुर्याएको छ ।’
पार्टीमा समयसापेक्षरुपमा युवा जनशक्ति आउनुपर्ने आवश्यकता औँल्याउँदै उनले समयको मागलाई आत्मसात् गर्नसक्ने नेतृत्व वर्तमानको आवश्यकता भएको बताए । एकमाने सरकारले समेत राज्यलाई सही निकास दिन अप्ठ्यारो परेको नेपालको वर्तमान अवस्थामा विभिन्न दल मिलेर बनेको गठबन्धन सरकारले समस्याको समाधान गर्न नसक्ने उनको भनाइ छ ।
एक प्रश्नको जवाफमा उनले भने, ‘एमसीसीको विषय यसअघि नै संसद्मा छलफल हुनुपर्नेमा जोड दिँदै उहाँले यसका गतल र सही पक्षबारे संसद्मै छिनोफानो गरी निष्कर्ष निकालेको भए अहिलेको अवस्था सिर्जना हुने थिएन ।’
प्रेस चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव राजाराम पौडेलले मुलुकको समसामयिक गतिविधि एवं यस क्षेत्रको पत्रकारिताको अवस्थाबारेमा जानकरी गराए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया