काठमाडौं । सरकारको ध्यान मन्त्रिपरिषदको विस्तार र अन्य राजनैतिक मुद्दामा अलमलिँदा सरकारले नै अगाडि सारेका अध्यादेश निष्कृय हुने सम्भावना बढेको छ । सरकारलाई बजेटसम्बन्धी अध्यादेश के गर्ने भन्ने विषयले तत्काल निष्कर्ष नपाउँदा अध्यादेश बचाउन अध्यादेश ल्याउनुपर्ने देखिन्छ ।
संविधानको धारा ७२ को ५ अनुसार सरकार निर्माणमा दलहरु बीचको किचलोलाई सर्वोच्च अदालतको परामादेशले किनारा लगाएर पुनःस्थापित भएको प्रतिनिधिसभा झण्डै काम विहीन भएर अन्त्य भयो । गत साउन ३ गते बोलाइएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने र अध्यादेश टेबल गर्ने बाहेक उल्लेख्य काम हुन सकेन ।
अहिले संसदमा टेबल भएका अध्यादेश के गर्ने भन्ने सर्वत्र चासो छ । कतै प्रतिस्थापन विधेयक नआउदा निष्कृय हुने हो कि भन्ने आशंका पनि छ । संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले सरकारले जारी गरेका अध्यादेशहरुलाई लागू गराउन संसद प्रतिस्थापन विधेयक आवश्यक रहेको बताए।
सहायक प्रवक्ता धमलाले सरकारले जारी गरेका अध्यादेशहरुलाई लागू गराउन अधिवेशन आह्वान नगरे पुनः अध्यादेश नै ल्याएर अघि बढ्नुको विकल्प नरहेको बताए । सहायक प्रवक्ता धमलाका अनुसार अधिवेशन आह्वान गर्ने सन्दर्भमा प्रतिनिधिसभाको निर्वाचनको परिणाम घोषणा भएको मितिले एक महिना भित्र प्रतिनिधि सभाको, संघीय संसदको अधिवेशन आह्वान गर्नुपर्छ भनिएको बाहेक अन्य अवस्थामा सरकारको सिफारिसमा राष्ट्रपतिले आवश्यकता अनुसार दुवै सदनको अथवा कुनै एक सदनको अधिवेशन आह्वान गर्न सक्ने व्यवस्था रहेको छ । उनले सरकारले अधिवेशन बोलाउन आवश्यक ठानेर राष्ट्रपतिकोमा सिफारिस गरे कुनै पनि समयमा अधिवेशनहरु आह्वान हुन सक्ने बताए ।
सहायक प्रवक्ता धमलाले भने, ‘संसदमा केही अध्यादेशहरु प्रस्तुत भएका छन् । प्रस्तुत भएका अध्यादेशहरुलाई संसदले कि त स्वीकार गरेर जानुपर्ने हुन्छ, कि त ६० दिन पछाडि स्वतः निष्क्रिय हुने व्यवस्था छ । त्यसको पनि समय छोटिँदै छ । केही समयपछि ६० दिन पुग्न लागेको छ । त्यसपछाडि ती अध्यादेशहरु निष्क्रिय हुन्छन् । कि त अधिवेशन आह्वान भएर संसद प्रतिस्थापन विधेयक सरकारले ल्याएर त्यसलाई अगाडि बढाउनु पर्छ । कि यदि अधिवेशन आह्वान भएन भने फेरि अध्यादेश नै जारी गरेर, जब त्यसको अवधि सकिन्छ, ६० दिन पुग्छ, त्यसपछि सरकारले पुनः अध्यादेश नै ल्याएर अगाडि बढाउनु पर्ने हुन्छ । अधिवेशन आह्वान सन्दर्भमा कस्तो व्यवस्था छ भन्ने सन्दर्भमा नेपालको संविधानको धारा ९३ मा अधिवेशन आह्वान गर्ने व्यवस्था छ । त्यहाँ प्रतिनिधिसभाको निर्वाचनको परिणाम घोषणा भएको मितिले एक महिना भित्र प्रतिनिधि सभाको, संघीय संसदको अधिवेशन आह्वान गर्नुपर्छ भनिएको छ । त्यस पछाडि राष्ट्रपतिले समय–समयमा दुवै सदनको अथवा कुनै एक सदनको पनि अधिवेशन आह्वान गर्न सक्नेछ भन्ने व्यवस्था छ । यसको अर्थ के हो भने कुनै पनि समयमा अधिवेशनहरु आह्वान हुन सक्छन् ।जस्तो अस्ति एउटा अधिवेशन अन्त्य भयो । फेरि अर्को अधिवेशन आवश्यक्ता ठान्यो सरकारले सिफारिस गर्यो भने राष्ट्रपतिबाट अधिवेशन आह्वान हुन सक्छ । अधिवेशन आह्वान गर्नलाई, अधिवेशन सञ्चालन गर्नका लागि यो समय बस्नुपर्छ, यति वटै बस्नुपर्छ भन्ने खालको कुनैपनि संवैधानिक, कानुनि रुपमा अवरोध गरेको अथवा तोकिएको त्यस्तो छैन । जुनसुकै समयमा जति वटा पनि अधिवेशन हुनसक्ने व्यवस्था छ ।’
यस्तै संविधानमा भएको अर्को व्यवस्था अनुसार विशेष कामका लागि निश्चित समय तोकि बोलाइने अधिवेशनलाई विशेष अधिवेशनको नाम दिइएको उनले बताए । अहिले विभिन्न मिडियाहरुमा अधिवेशन बोलाउने व्यवस्थामा फरक फरक समाचार आइरहेको प्रति संकेत गर्दै संविधानमा नियमित अधिवेशनको कुनै विशेष नाम नभएको स्पष्ट पारे । उनले सरकारले हिउँद तिर बोलाउने अधिवेशनको नाम यही भनि तोकेर कतै नलेखिएको भन्दै यसलाई विधेयक अधिवेशन भन्ने गरिएको बताए । यस्तै जेठ असारमा बोलाइने अधिवेशनलाई बजेट अधिवेशन भनिए पनि यो अधिवेशन मात्र भएको बताए । जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउनु पर्ने भएकोले बजेट अधिवेशन भन्ने गरेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया