नेकपा (एकीकृत समाजवादी)को यस्तो छ पदाधिकारी चयन प्रक्रिया

लोकपथ
805
Shares

काठमाडौं। प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीको चनद्रागिरीमा आवासीय बैठक बसिरहेको छ ।

सो पार्टीले पार्टीले १७ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने भएको छ । बैठकमा प्रस्तुत पार्टीको विधानअनुसार अध्यक्ष एकजना,उपाध्यक्ष ७ जना, महासचिव, दुई जना उपमहासचिव, ७ सचिव गरी १७ पदाधिकारी रहनेछन् ।

त्यसैगरी पदाधिकारीसहित ११५ जना पूर्ण र ३६ जना वैकल्पिक केन्द्रीय सहस्य रहनेछन् । हरेक ५ वर्षमा महाधिवेशन हुने र त्यसले राष्ट्रिय परिषद्का सदस्यहरु चुन्ने पनि प्रस्तावित विधानमा राखिएको छ । केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरु राष्ट्रिय परिषदबाट चुन्ने प्रस्तावित विधानमा उल्लेख छ ।

राष्ट्रिय परिषद्का सदस्यहरुले केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोगका सदस्य र पदाधिकारीहरु चुन्नेछ । पार्टीका अध्यक्ष र पदाधिकारीहरु पनि महाधिवेशनबाट नभइ राष्ट्रिय परिषद्बाट चुनिनेछन् ।

बैठकमा पार्टीका संयोजक माधवकुमार नेपालले नेकपा एमालका अध्यक्ष केपी शर्मा ओलीका कारण एमाले विभाजित भएको निश्कर्ष निकालेका छन् । १० बुँदे प्रस्तावका आधारमा एकता प्रक्रियामा सामेल हुन एमालेकै तेस्रो धारका नेताहरूले आग्रह गरिरहेका बेला नेता नेपालले ओलीकै कारण एमाले विभाजनको अवस्थामा पुगेको निष्कर्ष निकालेका हुन् ।

त्यसैगरी समाजवादीको घोषणा पत्रमा नेता नेपालले तत्कालीन नेकपालाई सर्वोच्च अदालतले मान्यता नदिएर नेकपा एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्काइदिए पनि अध्यक्ष ओलीले जेठ २ को एमाले केन्द्रीय कमिटी बैठक नबोलाई ‘केन्द्रीय कमिटीको विशेष बैठक’ नाम दिएर आफ्नो पक्षको मात्र बैठक बोलाएर नवौँ महाधिवेशनका निर्णयहरू उल्ट्याइ पार्टी विभाजन गर्न खोजेको आरोप लगाएका छन् ।

नेता नेपालले आफ्नो पार्टीको रणनीतिक लक्ष्य लोकतान्त्रिक मूल्य मान्यतासहितको वैज्ञानिक समाजवाद भएको पनि घोषणापत्रमा उल्लेख गरेका छन् । एकीकृत समानजवादीले पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद लेनिनवादलाई नै बनाएको छ । सो पार्टी नेता प्रधान नभई नीति प्रधान हुने पनि घोषणा पत्रमा दाबी गरिएको छ ।नेता नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले बुधबार निर्वाचन आयोगबाट मान्यता पाउँदैछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?