काठमाडौं । बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू पार्टी एकताको पक्षमा रहेको स्पष्ट पारेकी छन् । शाक्यले पार्टी एकता कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई कार्यान्वयनमा ल्याउने प्रतिवद्धता अध्यक्ष केपी शर्मा ओलीले गर्ने बित्तिकै नेकपा एमाले एकजुट भएर अघि बढने विश्वास समेत व्यक्त गरिन् ।
नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पार्टी एकतालाई कमजोर बनाउने काम कसैले पनि गर्न नहुनेतर्फ पनि सिंगो पार्टी पंक्तिको ध्यानाकर्षण गराइन् । नेकपा एमालेकी उपाध्यक्ष समेत रहेकी शाक्यले आफू अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवैको साथ पाएर मुख्यमन्त्री भएको उल्लेख गर्दै बाहिर बाहिर नेता नेपाललाई धोका दिएको भन्ने खालको गलत सन्देश दिएर पार्टीको एकतालाई कमजोर बनाउने काम नगर्न पनि पटक पटक आग्रह गरिन् ।
उनले भनिन्– ‘म मुख्यमन्त्री हुनुमा दुवै नेताहरुको साथ छ । सहमति छ । अनि बाहिर बाहिर कुरा आउँछ, अष्ट त के–के भयो, के–के भनेर । लामो समयसम्म फलाना नेतालाई साथ दिएर लाग्ने, अनि मुख्यमन्त्री पाएपछि त अर्कोतिर भनेर भन्नुभयो, यो गलत कुरा हो ।’
शाक्यले गलत सन्देश दिने काम नगर्न समेत सबैसँग आग्रह गरिन् । उनले भनिन्– ‘जे छ, त्यहीँ कुरा बाहिर आयो भने त्यसले पार्टी एकताका लागि हौसला बढाउँछ, प्रेरणा मिल्छ । मान्छेलाई एकताका लागि यसरी जानुपर्ने रहेछ भन्ने तय हुन्छ । हामी एकताको पक्षमा छौं । मलाई दृढ विश्वास छ–केही समयपछि नेकपा एमाले एकजुट भएर अघि बढ्नेछ । त्यसका लागि १० बुँदे प्रस्तावलाई उच्च मूल्यांकन गरेर अगाडि बढाउन हाम्रो नेतृत्वले मन फराकिलो बनाएर नेकपा एमालेलाई बलियो बनाउन चाहन्छु भन्नुभयो भने स्थिति उथलपुथल हुन्छ । त्यसो भएको हुनाले पार्टीलाई कमजोर बनाउने काम नगरौं ।’
मुख्यमन्त्री शाक्यले निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलसहितको सल्लाहमा प्रदेश सरकारलाई अघि बढाउने प्रतिवद्धता समेत व्यक्त गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया