जलमग्न कैलाली : सडकदेखि सरकारी सेवा समेत अवरुद्ध

धनगढी । कैलालीमा बिहीबारदेखि लगातार भारी वर्षा भएको छ । भारी वर्षाका कारण कैलालीका साना तथा ठूला नदीहरूको बहाब बढिरहेको छ । कैलालीमा साना तथा ठूला गरी १६ वटा नदी छन् ।

हावापानी विश्लेषण शाखा अत्तरियाका अनुसार लगातारको वर्षाका कारण कैलालीमा साना तथा ठूला नदीको बहब बढिरहेको छ । शाखाका प्रमुख सिंगल चौधरीले भने, ‘अहिले सबै नदीको बहाब सतर्कता तहभन्दा न्यून छ । बिहीबारभन्दा शुक्रबार नदीहरूको बहाब बढेको छ ।’ उनले अहिले कर्णाली, खुटिया, कान्द्रा, मोहनालगायत नदीहरूको बहाब बढेका कारण नदी तटीय क्षेत्रमा रहेका व्यक्तिहरूले सर्तकर्ता अपनाउनुपर्ने बताए ।

शाखाका अनुसार कर्णालीमा बिहीबार छ दशमलव ८६ मिटर रहेको थियो भने शुक्रबार बिहानसम्म बढेर सात दशमलव दुई लिटर पुगेको थियो । कर्णालीमा नौ दशमलव आठ मिटरलाई चेतावनी तह मानिने गरेको छ ।

अहिले मोहना नदीको बहाब बढेर दुई दशमलव १९ पुगेको छ । सो नदीको तीन मिटरलाई चेतावनी तह मानिएको छ । सबैभन्दा बढी क्षति पुर्याउँदै आएको कान्द्रा नदीको चेतावनी तह दुई दशमलव ३६ लिटरलाई मानिएको छ भने शुक्रबार बिहानको मापनअनुसार सो नदीले चेतावनी तह पार गरी खतरा तह पुग्न लागेको छ । सो नदीको बहाब दुई दशमलव ७० रहेको छ ।

त्यस्तै कैलालीको खुटीया नदीको चेतावनी तह दुई दशमलव ३६ लिटरलाई लिइएकोमा सो नदीको बहाब दुई दशमलव १० लिटर रहेको छ ।

धनगढी जलमग्न
बिहीबार बिहानैदेखि कैलालीमा भारी वर्षा भइरहेको छ । हावापानी विश्लेषण शाखा अत्तरियाका अनुसार कैलालीमा बिहीबार बिहानदेखि साँझसम्म एक सय मिलिलिटर वर्षा भएको थियो भने बिहीबार रातिदेखि बिहानसम्म ४७ मिलिलिटर गरी एक सय ४७ मिलिलिटर वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार कैलालीमा भारी वर्षा भएको उल्लेख गरेको थियो । सो महाशाखाका अनुसार २४ घण्टामा २४ घण्टामा कैलालीको धनगढीमा एक सय ४३ दशमलव आठ मिलिलिटर वर्षा भएको उल्लेख गरेको थियो ।

लगातारको वर्षाले कैलालीको धनगढीका विभिन्न क्षेत्रहरू जलमग्न भएका छन् । बिहीबारदेखिको भारी वर्षाले धनगढीका अधिकांश क्षेत्र जलमग्न भएको छ । धनगढीको मुख्य सडक चौराहदेखि क्याम्पसरोडमध्ये लक्ष्मीनारायण चौकदेखि पार्कमोडसम्मको सडक जलमग्न भएको छ । जलमग्नका कारण केही पसलभित्र पानी पसेको स्थानीयले बताए ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशसभा सचिवालयको प्रवेशद्वार पनि जलमग्न भएको छ । निर्माणाधीन चटकपुरदेखि क्याम्पसरोड सडक पनि जलमग्न भएको छ । नाली निर्माण भइरहेकाले निकास नहुँदा सो सडकमा पानी जमेको र यात्रा गर्न कठिनाइ भएको छ । सो सडकका कारण त्यस क्षेत्रका केही घरमा समेत पानी पसेको छ ।

यस्तै १, ३, ४ लगायतका वडामा केही घर तथा पसलमा पानी पसेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जिल्ला प्रहरी कार्यालयको परिसर पनि जलमग्न भएको छ । उनले भने, ‘जिल्लाभरि नै वर्षा भइरहेको जानकारी आएको छ । अहिलेसम्म मानवीय तथा भौतिक क्षति तथा विस्थापित भएको जानकारी आएको छैन ।’

वडा नम्बर २ बाट पानी निकास भइरहे पनि अहिले विद्युत् प्राधिकरण धनगढी शाखाको प्राङ्गण पनि जलमग्न छ । भारी वर्षाका कारण सबैभन्दा बढी वडा नम्बर २ प्रभावित भएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर १४ र १९ का १० घरधुरीहरु विस्थापित भएका छन । ती दश घरधुरीका व्यक्तिहरुलाई शशस्त्र प्रहरीले उद्दार गरेर अहिले खाद्यान्न लगायतका अन्य सामाग्रीहरु सुरक्षित स्थानमा सारिरहेको जनाइएको छ । कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बाढी सो वडाका घरमा पसेपछि शशस्त्र उद्दारमा खटिएको बताए ।

धनगढी जलमग्न बन्नुका ५ कारण
धनगढी उपमहानगरपालिकाको बजार क्षेत्रमा पर्ने वडा नम्बर १ देखि ८ सम्म हरेक वर्ष डुबानको सामस्या बढ्दो छ । केही वर्षअघिसम्म रातदिन पानी पर्दा पनि डुबानको समस्या नहुने बस्ती अहिले क्षणभरको वर्षाले डुबाउँछ । उपमहानगरको मुख्य र शाखा सडक समेत जलमग्न हुन्छन्।

५२ वर्षदेखि बस्दै आएका धनगढी–२ का पुष्पराज जोशी भन्छन्, ‘धनगढीमा पहिले विशालनगरको माधवी चलचित्र हल वरपरको स्थान, हसनपुरको ऐश्वर्य विद्या निकेतनपछाडि र श्रीलंका टोलमा मात्रै डुबान हुनेगरेको थियो । अहिले भने क्षणभरको वर्षामै धनगढी डुब्ने गरेको छ । धनगढी डुब्नुको पछाडि ५ कारण देखिएका छन्् ।

धनगढी उपमहानगरमा डुबानको समस्या बढ्नुकाु मुख्य कारण सार्वजनिक जग्गामाथिको अतिक्रमण हो । उपमहानगरका खोलानाला, नहर तथा कुलो अतिक्रमणको चपेटामा परेका छन् । धनगढीका रहेका कैलाली खोला, सकुटी नाला, भंगी नाला र शिवनगर नाला अतिक्रमण गरेर सयौँ घर निर्माण गरिएका छन् ।

धनगढी उपमहानगरपालिकामा सयभन्दा बढी सार्वजनिक ताल थिए । तीमध्ये अधिकांशको अहिले अस्तित्व नै मेटिएको छ । विगतमा वर्षातको पानी बस्तीमा रहेका तालहरूमा जम्मा हुनेगरेका कारण नगरमा डुबानको समस्या थिएन ।

धनगढी नगर विकास समितिले नगरको ९ सय ३१ बिघा सार्वजनिक जग्गा बिक्री गरेको छ । २०४९ देखि २०७२ सम्म नगर विकासले खोलानाला तथा ताल क्षेत्रको जग्गा व्यक्तिका नाममा दर्ता गरेको हो ।

धनगढी उपमहानगरपालिका तथा नगर विकास समितिले नगरमा बस्ती विकास गर्ने योजना ल्याउन नसक्दा जथाभावी घर र सडक निर्माण गरिएका छन् । यसरी नगरको विकास गर्दा खुला ठाउँ, खोलानाला तथा ताल क्षेत्रसहित खुला सार्वजनिक ठाउँ समेत राखेर नगरमा बस्ती विकास गर्नुपर्ने भए पनि धनगढीमा भने नगर विकासको योजनाअनुसार सहरको विकास गर्न नसकिँदा धनगढीमा डुबान बढेको हो ।

धनगढी उपमहानगरपालिकामा निर्माण गरिएका सडक साँघुरा छन्् । केही सडक त नाली नै नभएका पनि छन् । नाली निर्माण नगरी बनाइएका सडक र पानी नबग्ने गरी बनाइएका नालीका कारण पनि वर्षातको पानी बस्तीमा जम्ने गरेको छ । धनगढीमा विभिन्न बस्तीमा बनाइएका सडकमा कल्भर्ट निर्माण नगरिँदा पनि पानी बस्तीमा नै थुनिने गरेको छ ।

महशुल लिन बन्द, सेवाग्राही मारमा
धनगढीमा लगातार भएको वर्षाले विद्युत प्राधिकरणको प्राङ्गण जलमग्न भएपछि दुई दिनदेखि मिटर जडान तथा मशुल तिर्न जाने सेवाग्राहीलाई गेटबाटै फर्काइने गरेको छ । महशुल बुझाउन गएका चौधरीले भने –‘सात दिनभित्र महशुल बुझाए विद्युत्ले छुट दिन्छ । आज अन्तिम दिन थियो । हतार–हतार आए तर, कार्यालयले महशुल लिन नै बन्द गरेको छ ।’

धनगढी वडा नम्बर ५ का बामदेव ओझा बिहीबार नेपाल विद्युत् प्राधिकरण धनगढी शाखामा मिटर जडान गराइमाग्न कार्यालय पुगे । तर, जलमग्न भएको कारण देखाउँदै उनलाई फिर्ता पठाइयो ।

धनगढी वडा नम्बर ६ का राजकुमार चौधरी घरको विद्युत् महशुल तिर्न भनी कार्यालय पुग्दा उनलाई गेटबाटै कार्यालय बन्द रहेको भन्दै फिर्ता पठाइएको थियो।

वडा नम्बर ५ का जोशीले विद्युत कार्यालयको लापरबाहीले आफूहरूले समयमै सेवा लिन नपाएको गुनासो गरे । उनले भने, ‘जलमग्नलाई कारण देखाउँदै सेवा बन्द गर्नु प्राधिकरणको कमजोरी हो ।’ उनले सेवाग्राहीलाई मार नपर्ने गरी छिटोछरितो कार्यालयले सेवा प्रदान गर्नुपर्ने बताए ।

चौधरी र जोशीजस्तै सयौं सेवाग्राही दुई दिनदेखि कार्यालयको गेटबाटै फर्किएका छन् । सामान्य वा भारी वर्षा पर्दा परि सामान्य जलमग्न हुने प्राधिकरणको प्राङ्गण पछिल्लो समय भने बढी प्रभावित हुनेगरेको हो ।

कार्यालयका प्रमुख सुरेन्द्र चौधरीले पानीको निकास नहुँदा कार्यालय जलमग्न हुनेगरेको बताए । उनले भने, ‘पानी कक्षभित्र नै छिर्दा काम प्रभावित भएको हो ।’

अवरुद्ध विद्युत् सेवा सुचारु
धनगढी उपमहागरपालिकासहित आसपासको क्षेत्रमा शुक्रबार बिहानैदेखि विद्युत् सेवा अवरुद्ध भएको थियो । झण्डै छ घण्टा बढी अवरुद्ध धनगढी वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा विद्युत् सेवा सुचारु भएको छ ।

नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुख सुरेन्द्र चौधरीले विभिन्न ठाउँमा रुख ढलेपछि विद्युत् सेवा अवरुद्ध भएको जानकारी दिए ।
‘मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय नजिक र अन्य दुई ठाउँमा पनि रुख ढलेको छ’, चौधरीले भने, ‘वर्षा रोकिएपछि मात्रै काम गर्न पाइएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?