काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनअनुसार मेलम्ची खोलामा आएको बाढीबाट ध्वस्त चनौटो बजारलगायतको क्षेत्रमा पुल राख्नका लागि अध्ययन टोली खटिएको छ ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई प्रधानमन्त्री देउवाले मेलम्ची खोलामा आएको बाढीले बगाएका पुलको ठाउँमा स्थानीय सरकारसँग समन्वय गरेर बेलिब्रिज वा यान्त्रिक पुल राख्न निर्देशन दिएका थिए ।
प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले मेलम्ची क्षेत्रमा बेलिब्रिज वा यान्त्रिक पुल राख्न अध्ययन गर्न शुक्रवार प्राविधिक टोली त्यसतर्फ जान लागेको जानकारी दिए ।
उनले भने, “मेलम्ची क्षेत्रमा बेलिब्रिज वा यान्त्रिक पुल राख्न सकिने ठाउँको सर्वेक्षण गर्न विभिन्न उपकरणसहितको प्राविधिक टोली सुरुमा हेलम्बु गाउँपालिका अन्तर्गतको चनौटो बजार भन्ने ठाउँमा जान लागेको हो ।” सो टोलीमा नेपाली सेना, सडक विभाग, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका प्राविधिकहरू रहेका छन् ।
“टोलीले त्यहाँ गएर मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका नगर प्रमुख र गाउँपालिका प्रमुखहरूसँग समन्वय गरेर पुल राख्ने ठाउँको पहिचान गर्नुका साथै सर्वेक्षण गर्नेछ”, उनले भने ।
यो समाचार गोरखापत्रमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया