यूएन मिसनको प्रश्नपत्र लिक प्रकरणमा तीन प्रहरीलाई बर्खास्त गर्न सिफारिस

लोकपथ
140
Shares

काठमाडौं । संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जान नेपाल प्रहरीले लिने आन्तरिक परीक्षा (प्रि–स्याट)को प्रश्नपत्र ‘लिक’ प्रकरणमा १४ जना दोषी देखिएका छन् ।

नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) वसन्त लामाको संयोजकत्वमा गठन भएको छानबिन समितिले बुधबार बिहान प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बुझाएको अनुसन्धान प्रतिवेदनमा १४ जना दोषी देखिएका छन् ।

प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवरले प्रश्नपत्र लिक भएको घटनामा संलग्न दोषीलाई कारबाहीको सिफारिससहित छानबिन समितिले प्रतिवेदन बुझाएको बताए । त्यस्तै छानबिन समितिले प्रश्नपत्र लिक भएको ठहर गर्दै तीन जना प्रहरीलाई सेवाबाट बर्खास्त गर्न सिफारिस गरेको छ ।

समितिले प्रहरी नायब निरीक्षक जनकबहादुर थापा, हवल्दार कुमार शाह र कार्यालय सहयोगी सुरेश बमलाई सेवाबाट बर्खास्त गर्न सिफारिस गरेको हो । यस्तै, एक एसपीसहित ११ प्रहरीलाई विभागीय कारबाहीको सिफारिस गरिएको छ।

छानबिन समितिले लिक भएको प्रश्नपत्र ११९ जना परीक्षार्थीको हातमा पुगेको निष्कर्ष निकालेको छ ।

यही साउन १५ र १६ गते प्रहरी मुख्यालय तथा सातवटा प्रदेश प्रहरी कार्यालयमा परीक्षा सञ्चालन गरिएको थियो । परीक्षामा चार हजारभन्दा बढी परीक्षार्थी सहभागी थिए ।

प्रश्नपत्र कार्यालय सहयोगीबाट लिक भएको अनुसन्धानमा देखिएको छ । अनुसन्धानमा क्रममा लामा नेतृत्वको समितिले शंकास्पद सबैको बयान, उनीहरुको मोबाइल, सामाजिक सञ्जाललगायत अनुसन्धान गरेको थियो ।

समितिले आगामी दिनमा प्रश्नपत्र लिक नहोस् भनेर शाखालाई व्यवस्थापन गर्न समेत सुझाव दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?