काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय कर्मचारी संगठन, विश्वविद्यालय राष्ट्रिय समिति महासचिवमा सोलुखुम्बुका लोकेन्द्र आरसी मनोनित भएका छन् ।
आइतवार सम्पन्न भर्चुअल बैठकले संगठनको रिक्त रहेको महासचिव पदमा आरसी, उपमहासचिव पदमा प्रकाश सापकोटा र सचिव पदमा तुलसी दिवस महतरालाई मनोनित गरेको संगठनका अध्यक्ष दिपक तिवारीले जानकारी दिए ।
विश्वविद्यालयभित्रका कर्मचारीहरुको पेशागत समस्या समाधान, सांगठनिक गतिशीलता, सामूहिकता र संगठन विस्तारमा जोड दिँदै सबै विश्वविद्यालयका कर्मचारीहरुको भरलाग्दो पेशागत संगठनका रुपमा यसलाई स्थापित गराउने महासचिव आरसीले प्रतिबद्धता जनाए ।
उक्त बैठकले सबै विश्वविद्यालयमा अन्योल अवस्थामा देखिएको उपदान कोषको बारेमा बृहत् अन्तक्रियाका साथै विज्ञ समिति निर्माण गरी विश्वविद्यालयहरु र शिक्षा मन्त्रालयलाई ध्यानाकर्षण गराउने, सरकारले घोषणा गरेको १० दिने पर्यटन भ्रमण बिदा र खर्च विश्वविद्यालयका कर्मचारीहरुले पनि पाउने सुनिश्चितता गर्न सम्बन्धित मन्त्रालयमा ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ ।
निश्चित सेवा अवधि पुगेका तर बढुवाको लागि विज्ञापन नभएर वृत्ति विकासमा अवरोध भएका कर्मचारीहरुका लागि तत्काल् तहगत बढुवाको आवेदन खुलाउन सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउने र लामो समयदेखि स्थायी हुन नसकेका कर्मचारीहरुको स्थायी प्रक्रिया अघि बढाउन सम्बन्धित पक्षसामु माग राख्ने निर्णय भएको उपमहासचिव सापकोटाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया