आज एमाले स्थायी कमिटी बैठक बस्दै

लोकपथ
119
Shares

काठमाडौं । नेकपा(एमाले)को स्थायी कमिटी बैठक आज बस्दैछ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाएका हुन् ।

बालकुमारीस्थित तुलसीलाल अमात्य प्रतिष्ठानको हलमा बस्ने आजको बैठकमा प्रतिनिधि सभा विघटन र उक्त मुद्दामा सर्वोच्च अदालतले दिएको फैसलामा पार्टीको आधिकारिक धारणाबारे छलफल हुने बताइएको छ ।

स्थायी कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई बोलाइएको भएपनि नेपाल पक्ष बैठकमा उपस्थित हुने मनस्थितिमा देखिएको छैन । असार २८ गते सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेसँगै देउवा प्रधानमन्त्री नियुक्त भइसकेका छन् । देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने एमालेका २३ सांसदहरुप्रति एमाले अध्यक्ष केपी शर्मा ओलीले तिव्र असन्तुष्टि जनाएका छन् । प्रधानमन्त्री निवास छाडेर आफ्नो बालकोट निवास गएको दिन असार २९ गते प्रधानमन्त्री ओलीले माधव नेपाललाई एमालेमा ठाउँ नभएको अभिव्यक्ति दिएका थिए ।

ओलीको प्रधानमन्त्रीबाट बर्हिगमन भएसँगै पहिलोपल्ट बस्न लागेको एमाले स्थायी कमिटी बैठकलाई निकै चासो साथ हेरिएको छ ।

आजै दिउँसो ३ बजे एमाले संसदीय दलको बैठक बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्नेगरी बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?