ओलीको असंवैधानिक कदमलाई अबको सरकारले सच्याउँछ : नेता सिंह

लोकपथ
98
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ओली नेतृत्वको दुईतिहाईको सरकारले विधिलाई मिचेर गरेको असंवैधानिक र अलोकतान्त्रीक कार्यलाई सच्चाएर कांग्रेस नेतृत्वको सरकार अगाडी बढ्ने दाबी गरेका छन् ।

आज नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्य समितिको विशेष बैठकलाई सम्बोधन गर्दै नेता सिंहले कोरोना महामारीको योजनाबद्ध रुपले सामना गरि सबै जनतालाई खोपको व्यवस्था गर्ने बताएका हुन्। कांग्रेसको सरकारको प्रभावकारीता जनताले महसुस गर्ने गरी काम गर्ने उनको दाबी छ ।

साथै नेता सिंहले राष्ट्रपति र प्रधानमन्त्रीले गरेको असंबैधानिक कामलाई अदालतले सच्चाएको बताएका छन्। सर्वोच्च अदालतको पछिल्लो फैसला देश र जनताको पक्षमा भएको भन्दै नेता सिंहले अब कसैले पनि संविधानमाथि प्रहार गर्ने हिम्मत गर्न नसक्ने बताए ।

अर्को प्रसङ्गमा उनले पार्टीलाई देश र जनताका लागी काम गर्न सक्ने सक्षम नेतृत्वको आवश्यकता रहेको बताए । १४ औं महाधिवेशनले पार्टीलाई रुपान्तरण गर्न सक्ने नेतृत्व चयन गर्नु पर्ने उनको भनाई छ । कांग्रेसले देशलाई महत्वपूर्ण अवस्थामा संकटबाट उन्मुक्ती गराउँदै आएकाले अबको नेतृत्व समय सुहाउँदो हुनु पर्ने उनले बताएका छन् ।

साथै नेता सिंहले देश र जनतालाई शिरमा राखेर पार्टीलाई मजबुत र सफल बनाउनको लागी आगामी महाधिबेशनमा आफु नेतृत्वका लागी तयार भएको समेत बताएका छन् । उनले पार्टीको आसन्न महाधिबेसन कुनै पनि हालतमा समयमा नै सम्पन्न हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?