काठमाडौं । विवेकशील साझा पार्टीले सर्वोच्च अदालतको निर्णयको स्वागत गरेको छ ।
आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति र प्रधानमन्त्रीले निरन्तर संविधानमाथी प्रहार गरेका बताउँदै साझा विवेकशीलले सर्वोच्चको फैसलाले त्यसलाई रोकेको जिकिर गरेको छ ।
“सर्वोच्च अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटन संविधान प्रतिकूल भएको भन्दै बदर गरिदिएको निर्णयको विवेकशील साझा पार्टी हार्दिक स्वागत गर्दछ।” जारी विज्ञप्तिमा भनिएको छ- “सर्वोच्चको फैसलाले प्रधानमन्त्री केपी ओली तथा राष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो समयमा संविधानमाथि लगातार रूपमा गर्दै आएको मनपरी प्रहारलाई स्पष्टसँग संवैधानिक अनुशासनमा बाँधिदिएको छ।”
त्यसैगरी साझा विवेकशीलले राष्ट्रपतिलाई प्रधानमन्त्रीको कठपुतली भएको आरोप लगाउँदै पुनः स्थापित भएको प्रतिनिधि सभाले राष्ट्रपतिमाथि महाअभियोग लगाउनुपर्ने साझा विवेकशीलको ठहर रहेको छ ।
“पछिल्लो समयमा निरन्तर प्रधानमन्त्री ओलीको कठपुतली बनेर राष्ट्रपति भण्डारीले संविधानमाथिको मनपरीलाई जसरी साथ दिँदै आएकी छिन्, त्यसलाई मध्यनजर गर्दा पुन स्थापित संसद्ले उनीमाथि महाअभियोग लगाउनुपर्छ भन्ने विवेकशील साझा पार्टीको ठहर छ।” विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै आजको फैसलाले नेपालको वस्तुगत परिस्थितिलाई मध्यनजर गर्दै संसद्को स्थिरता र पूर्ण कार्य अवधिका लागि संविधानमा गरिएका विशेष व्यवस्थाहरूलाई अनुमोदन गरेको विवकेशील साझाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया