काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा आइतवार (आज) सभामुख अग्निप्रसाद सापकोटा पक्षका कानूनी व्यवसायीहरुले बहस गर्दैछन् ।
शुक्रवारबाट सरकारी पक्षका वकिलहरुको बहस सकिएसँगै आजबाट सभामुख पक्षका ५ कानून व्यवसायीहरुले बहस गर्न लागेका हुन् ।
उनीहरुको बहसका लागि २ घण्टाको समय छुट्टयाइएको अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले लोकपथलाई जानकारी दिए । उनका अनुसार आज सभामुख पक्षका वरिष्ठ अधिवक्ताहरु श्यामप्रसाद खरेल, लभकुमार मैनाली, उपेन्द्रकेशरी न्यौपाने साथै अधिवक्ताहरु मेघराज पोखरेल श्रीकृष्ण सुवेदीले बहस गर्न लागेका हुन् ।
“आज नै सभामुख पक्षको बहस सकिएपछि रिट निवेदक पक्षका कानून व्यवसायीहरुको जवाफी बहस शुरु हुनेछ । त्यसैगरी उनीहरुको बहस सकिएपछि मात्रै ४ जना एमिकश क्यूरी (अदालतको सहयोगी) को बहस शुरु हुने उनले बताए ।
“आज सभामुख पक्षका ५ कानून व्यवसायीहरुले बहस गर्दैछन् । उहाँहरुको लागि २ घण्टाको समय छुट्टयाइएको छ । त्यसैगरी आज नै रिट निवेदक पक्षका कानून व्यवसायीहरुले जवाफी बहस गर्दैछन् ।” अधिवक्ता पौडेलले लोकपथसँग भने । “त्यसपछि एमिकस क्यूरीको बहस शुरु हुनेछ ।”
एमिकस क्यूरीका लागि पनि २ घण्टाको समय छुट्टयाइएको अधिवक्ता पौडेलले बताए ।
अब ७ घण्टाको बसहपछि दोस्रो प्रतिनिनिधि सभा विघटनको मुद्दाको सबै बहसहरु सकिनेछ । र संभवत भोलि या केहिदिनमा नै मुद्दाको फैसला आउने उनले बताए ।
“अब सर्वोच्चको संवैधानिक इजलासमा करिब ७ घण्टा बहस हुनेछ । त्यसपछि छिट्टै अन्तिम फैसला आउनेछ । संभवत सबै बहस सकिएपछि भोलि नै या केहि दिनभित्रै मुद्दाको अन्तिम फैसला आउने पनि आँकलन गरिएको छ ।” उनले भने ।
पहिलो प्रतिनिधि सभा विघटन (पुस ५) र अहिलेको प्रतिनिधि सभा विघटन (जेठ ७) को प्रक्रिया सबै उहि प्रकृतिको भएका कारण पुनःस्थापना हुने सम्भावना रहेको उनले दाबी गरेका छन् । त्यस्तै पहिले पनि संविधानको धारा ७६ बमोजिम प्रतिनिधि सभा पुनर्वहाली गरेको र अहिले पनि संविधानको धारा ७६ विभिन्न धाराको आधारमा बहस भइरहेकोले प्रतिनिधि सभा पुनर्स्थपनाको सम्भावना रहेको उनले जिकिर गरे ।
“पहिले र अहिले प्रनितिभि सभा पुनर्वहालीको प्रक्रिया र संविधानको एउटै धारामा टेकेर बहस भइरहेकोले प्रतिनिधि सभा पुनर्स्थापनाको सम्भावना देखिन्छ । तर बाँकी कुरा त भोलि सबै बहस सकिएपछि र अन्तिम फैसला आएपछि मात्रै थाहा होला । ” उनले भने ।
प्रतिनिधि सभा विघटनको मुद्दामा असार ९ गते बुधवारबाट निरन्तर बहस भइरहेको छ । ४ दिन अर्थात आइतवारम्म रिट निवेदक पक्षको बहस सकिएको थियो । भने सोमवारबाट सरकारी पक्षका कानून व्यवसायीहरुले बहस गरेको थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया