जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्काशन गरिएकोबारे निर्वाचन आयोगमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्यको हस्ताक्षर जुटाउन सकेको छैन।
निर्वाचन आयोगसँग हस्ताक्षर जुटाउन ठाकुर पक्षले मागेको समयसीमा आज सकिँदैछ । तर जसपा स्रोतले दिएको जानकारी अनुसार ठाकुर पक्षले अहिलेसम्म बहुमत जुटाउन सकेको छैन । ठाकुर पक्षले हस्ताक्षर जुटाउन नसके पूर्व राष्ट्रिय जनता पार्टी (राजपा) लाई ब्यूताएर पार्टी खोल्ने ठाकुर पक्षका एक नेताले जानकारी दिए ।
पार्टीमा विवाद चर्किदै गएपछि ठाकुर र यादवले एकले अर्कालाई १८ जेठमा अनुशासनको कारबाही स्वरुप पार्टीबाट निष्काशन गरी आयोगमा पार्टीको अभिलेख अद्यावधिक गर्न माग गर्दै निवेदन दिएका थिए । १९ जेठमा आयोगले दुवै निवेदन राजनीतिक दलसम्बन्धी नियमावली २०७३ (पहिलो संशोधन) अनुरुप नभएपछि बदर गर्दै अनुसूची १८ बमोजिमको फारामसमेत भरेर पठाउन भन्दै पत्राचार गरेको थियो ।
अनुसूची १८ मा दलको विवरण हेरफेर गर्नुपर्ने भएमा उक्त ढाँचाअनुसार निर्वाचन आयोगमा लेखि पठाउनुपर्ने व्यवस्था छ ।आयोगले पत्रमा ठाकुर पक्षलाई केन्द्रीय कार्यकारिणी समितिको बैठकमा ‘उपस्थित सदस्यहरूको हस्ताक्षर सहितको माइन्यूटसमेत आयोगमा पेश गर्न भनेको थियो । यादवले भने केन्द्रीय कार्णकारिणाी समितिको बहुमत सदस्यको हस्ताक्षर सहित ठाकुरलाई कारवाही गरिएको पत्र बुझाएका कारण उनलाई अनुसूचि १८ को फाराम मात्रै भर्न भन्यो । यादवले २० गते नै त्यो भरेर बुझाइसकेका छन् । बहुमत केन्द्रीय कार्यकारिणी सदस्यले यादवको पक्षमा हस्ताक्षर गरेकाले ठाकुर पक्षलाई बहुमत जुटाउन सकस भएको हो । ठाकुर पक्षले आयोगले भने बमोजिम पत्र पेश गर्न नसकेपछि जेठ २३ गते ठाकुर पक्षले पार्टी सचिवालयका सबै जनालाई कोरोना भएको भन्दै आयोगसँग १ हप्ताको समय माग गरेको छ । ठाकुर पक्षले मागेको समय आज सकिदैँछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने कि नगर्ने भन्ने विषयमा विवाद भएपछि जसपामा भाडभैलो भएको हो। ठाकुर कुनै पनि हालतमा ओलीलाई समर्थन गर्ने पक्षमा रहे भने यादव दुई-दुई पटक प्रतिनिधि सभा विघटन ९गत पुष ५ र जेठ ७० गरेर असंवैधानिक काम गर्ने प्रधानमन्त्री ओलीलाइ कुनै पनि हालतमा समर्थन नगर्ने पक्षमा अडिग रहे । ठाकुर पक्ष ओलीलाई समर्थन गरेर जेठ २१ गतेबाट सत्तामा गइसकेको छ । हिजो ठाकुर पक्षले २१ गते मन्त्री बन्ने अवसर नपाएका राजकिशोर यादवलाई पनि मन्त्री बनाएको छ । अध्यक्ष यादवले आफूहरुलाई अल्पमतमा पारेको खण्डमा पूर्व राजपा ब्यूँताउन भएपनि राजकिशोरको साथ पाउन उनलाई मन्त्री बनाइएको ठाकुर पक्षका नेताको भनाई छ ।
५१ सदस्यीय कार्यकारिणी समितिमा यादव पक्षको बहुमत छ । यादव पक्षमा रहेका सदस्यलाई सत्ताको विभिन्न लोभ देखाएर ठाकुर पक्ष आफ्नो बहुमत पुर्याउने रणनीतिमा लागेपनि अव त्यो सपना पूरा नहुने अध्यक्ष यादव पक्षका नेताहरु बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया