संवैधानिक इजलासमै रोकियो कुरा, कहिले होला मुद्दाको सुनुवाइ ?

लोकपथ
63
Shares

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासबाट न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराई बाहिरिएका छन् ।

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ गर्न बनेको संवैधानिक इजलासका अन्य दुई न्यायाधीशहरुमा प्रश्न उठेपछि मंगलवार कार्की र भट्टराई अलग हुने निर्णय गरेका हुन् ।

आफूहरु इजलासबाट बाहिरिँदै न्यायाधीशद्वय कार्की र भट्टराईले न्याय परिणम मात्र नभइ प्रक्रियामा समेत निष्पक्षता हुनुपर्ने बताउँदै इजलासबाट बाहिरिने निर्णय गरेका हुन् ।

यता नेकपा विवादसम्बन्धी मुद्दाको फैसला गरेका न्यायाधीश बमकुमार श्रेष्ठ र उक्त फैसला पुनरावलोकन नहुने निर्णय दिएका तेजबहादुर केसीको बारेमा प्रश्न उठिरहे पनि न्यायाधीशद्वय भने इजलासबाट बाहिरिन चाहेका छैनन् ।

आइतवारको बहसका क्रममा अधिवक्ता गोबिन्द बन्दीले मुद्दा प्रभावित हुनसक्ने भन्दै न्यायाधीश श्रेष्ठ र केसीमाथि प्रश्न उठाएका थिए । तर दुवै न्यायाधीशहरुले नेकपा विवादको मुद्दालाई संसद विघटनको मुद्दासँग जोडेर हेर्न नहुने बताउँदै आएका छन् ।

यसैक्रममा आज नै प्रधानन्याधीश चोलेन्द्र शमशेर राणासँगै सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले छलफल गरेका थिए । छलफलका क्रममा प्रधानन्यायाधीश राणा पुनः अर्को संवैधानिक इजलास गठन गर्न सहमत भएका थिए ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटनलाई अनुमोदन गरि मध्यावधी निर्वाचन घोषणा गरेसँगै त्यसको विरुद्ध सर्वोच्चमा ३० वटा रिट परेका छन् । तर मुद्दाको सुनुवाइ भन्दा पनि इजलासकै विषयमा मात्रै बहस भइरहने हो भने मुद्दा सुनुवाइमा ढिलाइ हुने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?