काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्ने कदमलाई पुस ५ को कदमको निरन्तरताको कडी भएको बताएका छन् ।
आज एक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले आफूहरुले विपक्षी गठबन्धन बनाएर प्रधानमन्त्रीको दाबी पेश गर्दा पनि संसद विघटनको घोषणा गरिनु दुखद रहेको बताए ।
प्रचण्डले भने- ‘हाम्रो पार्टी ने.क.पा.(माओवादी केन्द्र), नेपाली काङ्ग्रेस, ने.क.पा. (एमाले), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा नेपालको प्रतिनिधि सभाका १४९ सदस्यहरुको हस्ताक्षर सहित नेपाली काङ्गेसका सभापति माननीय शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्तीका लागि राष्ट्रपति समक्ष दावी गरियो । संवैधानिक रुपमा माननीय शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुको कुनै विकल्प थिएन । तर प्रधानमन्त्री र राष्ट्रपति मिलेर मध्यरातमा प्रतिनिधिसभा विघटन गर्ने घोषणा गरियो । यो २०७७ पौष ५ गतेको प्रतिगामी कदमको निरन्तरताको अर्को कडी हो भन्ने कुरा स्पष्ट छ ।’
गत पुस ५ गते संसद विघटन गर्ने राष्ट्रपतिको कदम सर्वोच्चले उल्टयाइदिएपछि पनि प्रतिगमन कायम नै रहेको आफ्नो पार्टीको दृष्टिकोण रहेको र त्यहि पूरा भएको प्रचण्डको दाबी छ ।
प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्र विरोधी दृष्टिकोण, पद तथा सत्तास्वार्थ केन्द्रीत चरम व्यक्तिवादी महत्वकांक्षा र राष्ट्रिय स्वाधीनताको मुद्दालाई सैदाबाजीको विषय बनाउने सत्तास्वार्थ केन्द्रीत राष्ट्रिय आत्मसमर्पणवाद मुख्य भूमिका रहेको बताए । उनले भने- ‘हाम्रो पार्टीले प्रतिगमन विरोधी आन्दोलनको बीचबाट सर्वोच्च अदालतद्वारा पौष ५ गते विघटन गरिएको प्रतिनिधिसभा पुनस्र्थापित गरिएपछि पनि प्रतिगमनको खतरा कायम रहेको निष्कर्षकासाथ सबै प्रतिगमन विरोधी लोकतन्त्र एवं संविधान पक्षधर शक्तिहरुलाई त्यसप्रति सजग रहन गम्भीर अपील गर्दै आएको तथ्य पनि स्पष्ट नै छ । यो स्थितिका लागि प्रधानमन्त्री ओलीको संघीय गणतन्त्र र समावेशी लोकतन्त्र विरोधी दृष्टिकोण, पद तथा सत्तास्वार्थ केन्द्रित चरम व्यक्तिवादी महत्वकांक्षा र राष्ट्रिय स्वाधीनताको मुद्दालाई सैदावाजीको बिषय बनाउने सत्तास्वार्थ केन्द्रित राष्ट्रिय आत्मसमर्पणवादको मुख्य भूमिका रहेको छ ।’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया