संसद् विघटनविरुद्ध विपक्षी दलहरुको संयुक्त बैठक बस्दै

लोकपथ
175
Shares

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको घोषणा गरेपछि यस सम्बन्धमा साझा धारणा बनाउन विपक्षी दलहरुको संयुक्त बैठक बस्दैछ ।

आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक बोलाइएको छ । बैठकमा नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र), नेकपा(एमाले)को माधव नेपाल पक्ष, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चा सहितको सहभागिता रहने बताईएको छ ।

विपक्षी गठबन्धनले हिजो प्रतिनिधि सभाका १४९ सांसदहरुको हस्ताक्षरसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पुनः प्रधानमन्त्रीमा दाबि गरेका थिए । राष्ट्रपति भण्डारीले मध्यराति प्रतिनिधिसभा भंग गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचनको मिति तोकेकी छिन् ।

प्रतिनिधि सभा विघटनलाई सबै विपक्षी पार्टीहरुले असंवैधानिक र प्रतिगामी भएको प्रारम्भिक प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?