काठमाडौं । राष्ट्रिय सभा उपनिर्वाचनमा डा. खिमलाल देवकोटा विजयी भएका छन् ।
निवर्तमान गृहमन्त्री रामबहादुर थापालाई पराजित गरेर देवकोटा विजयी भएका हुन । बिहीवार बागमती प्रदेशको एक सिटका लागि उपनिर्वाचन भएको हो ।
कुल मतभार अनुसार थापाले ४०१४ र देवकोटाले ५०८८ मत पाएका छन् । बागमति प्रदेशका १ सय १० जना प्रदेश सभा सदस्य र २ सय ३८ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ३ सय ४८ जना मतदाता रहेकोमा ३ सय ३८ मत खसेको थियो । प्रदेश सभा सदस्य पशुपति चौलागाइको भने निधन भैसकेकोले अहिले प्रदेश सांसदको संख्या १०९ छ । प्रदेश सभा सांसदको एकजनाको मतभार ४८ र स्थानीय तहको सदस्यको १८ मतभार रहेको छ । जसअनुसार देवकोटाले कुल प्रदेशतर्फ २७८४ मतभार र स्थानीयतर्फ २३०४ मतभार गरी कुल ५०८८ मतभार प्राप्त गरेका हुन् । थापाले प्रदेशतर्फ २१६० र स्थानीय तहतर्फ १८५४ गरी कुल ४०१४ मतभार प्राप्त गरेका थिए । नेपाल मजदुर किसान पार्टीका उम्मेदवार कृष्ण बहादुर तामाङले प्रदेशतर्फ ९६ र स्थानीय तहतर्फ ३६ गरी कुल ८४ मत भार प्राप्त गरेका छन् । प्रदेश सभा सदस्यतर्फ हाल कायम मध्ये १०५ जनाले मत हालेका थिए भने ४ जनाले मतदानमा सहभागिता जनाएनन् । त्यसैगरी स्थानीय तहतर्फ ५ जनाले मतदानमा सहभागिता जनाएनन् ।प्रदेशसभा तर्फ खसेको १०५ मतमध्ये देवकोटाले ५८ मत प्राप्त गर्दा थापाले ४५ मत प्राप्त गरेका थिए ।
त्यसैगरी देवकोटाले स्थानीय तहतर्फ कुल दुई सय ३३ मत खसेकोमा १२८ मत प्राप्त गरेका थिए । थापाले एक सय तीन मत प्राप्त गरेका थिए ।
एमालेको आन्तरिक कलह उत्कर्षमा पुगेका बेला गत वैशाख २४ गते एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षबाट गृहमन्त्रीसमेत रहेका थापा र नेपाली कांग्रेस, माओवादी केन्द्र,एमालेको माधव कुमार नेपाल पक्ष र जनता समाजवादी पार्टी नेपालको उपेन्द्र–बाबुराम पक्षसमेतको समर्थनमा साझा उम्मेदवारका रुपमा देवकोटाले मनोनयन दर्ता गरेका गराएका थिए ।
देवकोटाको जितले नेकपा एमालेमा माधव नेपाल पक्ष निर्णायक भएको पुष्टि गरेको छ । एमालेको विवाद अन्त्यका लागि ओली र नेपाल पक्षबाट ५/५ जना सदस्य रहेको कार्यदल बनेर काम अघि बढेको अवस्थामा एमालेका आधिकारिक उम्मेदवार बनेका थापा पराजित भएका छन् । यसले अव एमालेको विबाद बल्झिने देखिएको छ ।
थापालाई एकै दिन दुई झट्का
माओवादीबाट एमालेमा गएर यसअघि राष्ट्रिय सभाको सदस्य पद गुमाएका रामबहादुर थापाले एकै दिन दुई झट्का ब्यहोर्नु परेको छ ।
आजनै सर्वाेच्च अदालतले गृहमन्त्री समेत रहेका थापासहित ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, सहरी विकासमन्त्री मन्त्री प्रभु साह, खानेपानीमन्त्री मणिचन्द्र थापा, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकुदमन्त्री दावा तामाङले गैर सांसदका रुपमा पुनः मन्त्रीमा नियुक्ति पाउनु संविधान र कानून विपरीत भन्दै सर्वोच्चले मन्त्रीको नियुक्ति बदर गरिदिएको छ । उता मन्त्री पद पनि खुस्किनु र निर्वाचनमा पनि हार्नुले थापालाई एकै दिन दुई झट्का लागेको छ । त्यतिमात्रै हैन अव एमालेको उनको भूमिका के होला भन्ने पनि सबैतिर चासो बढेको छ । उनको राजनीतिक जीवनमा यो एउटा कठिन अवस्था आईलागेको छ । किनकि एमालेमा उनी नव आगन्तुक हुन् । एमालेले ह्वीप जारी गर्दा र स्वयं प्रधानमन्त्री ओलीले आग्रह गर्दा समेत एमालेका प्रदेश सांसद र स्थानीय तहका सदस्यले थापालाई मत हाल्न पत्याएनन् । देवकोटालाई भने एमालेका बागमती प्रदेश सांसद र स्थानीय तहका सदस्यले पत्याएका छन् । त्यसमा पनि देवकोटा कांग्रेस,माओवादी,जसपा र माधव नेपाल पक्षका साझा उममेदवार थिए । बागमती प्रदेश सभा र स्थानीय तहमा एमालेको बहुमत छ । एमालेको सबै मत पाएको भए । थापाको जित निश्चित थियो ।
एमालेमा नेपाल पक्षनै निर्णायक
एमालेमा आन्तरिक कलह भइरहेका बेला पार्टीमा नेपाल पक्ष निर्णायक बनेको छ । प्रधानमन्त्री ओलीले अहिले संसदमा सबैभन्दा ठूलो दलको हैसियतमा एमालेको अल्पमतको सरकारको नेतृत्व गरिरहेका छन् । उनी गएको बैशाख ३० गते नेपालको संविधानको धारा ७६ को उपधारा ३ बमोजिम अल्पमतको सरकारको प्रधानमन्त्री बनेका हुन् । त्यसअघि ओलीले झण्डै दुइ तिहाइ नजिकको सरकारको नेतृत्व गरेका थिए । अल्पमतको सरकारले १ महिना भित्र संसदबाट विश्वासको मत लिनु पर्ने हुन्छ । त्यसका लागि ओली अहिले पानी बाराबारको सम्बन्ध रहेका नेपालसँगको दुरी घटाउने योजनामा छन् । प्रतिनिधि सभामा २ सय ७५ सांसद रहेकामा हाल २ सय ७१ जना छन् ।
बहुमतको सरकारका लागि १ सय ३६ सांसद संख्या चाहिन्छ । एमालेका अहिले १ सय २१ सांसद छन् । ओलीले विश्वासको मत लिन कांग्रेस,माओवादी र जसपा मध्ये कुनै एक दलको सहयोग लिनुपर्ने हुन्छ । कांग्रेस र माओवादीबाट त्यो संभावना छैन । जसपाको महन्थ ठाकुर पक्ष ओलीप्रति केही लचक छ भने उपेन्द्र यादव पक्ष ओलीलाई सहयोग नगर्ने पक्षमा छ । जसपा फुटाएर महन्थ पक्षको साथ ओलीले लिन सक्छन् । तर जसपाका अध्यक्षद्वय महन्थ र उपेन्द्रले ओली सरकारमा सहभागि नहुने आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेका छन् । यसले ओलीलाई सरकार जोगाउन त्यति सहज छैन । साथै पार्टीको नेपाल पक्षलाई साथ नलिदा पनि ओलीले विश्वासको मत दिन सक्दैनन् । गत वैशाख २७ गतेपनि नेपाल पक्षका २८ जना सांसद उपस्थित नहुदा ओलीले १२१ मध्ये पार्टीका ९३ सांसदको मात्रै साथ पाएका थिए । राष्ट्रिय सभामा एमालेको बहुमत अझै पनि छ । एक सिटमा हार जितले केही फरक त पर्दैन । तर बिहिबारको मतपरिणामले पार्टीमा नेपाल पक्ष निर्याायक देखिएको छ भने एमाले विवाद अव कसरी किनारा लाग्छ भन्ने प्रश्न पनि उब्जिएको छ। यसका साथै थापाको राजनीतिक भविष्य के होला भन्ने पनि प्रश्न खडा भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया