सशस्त्र प्रहरीको गोली लागेर एक जना घाइते

लोकपथ
1.3k
Shares
तस्वीर : सामाजीक सञ्जालबाट

काठमाडौं । पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एकजना घाइते भएका छन्। पश्चिम नवलपरासीको भारतीय सीमा क्षेत्र सुस्ता गाउँपालिका–५ बनकट्टी टुटहा खोला नजिकै सशस्त्र प्रहरीले गोली चलाएको हो ।

प्रतापपुर गाउँपालिका–६ का करिब २२ वर्षीय विनाश राजभर घाइते भएको प्रहरीले जनाएको छ । उनको खुट्टामा गोली लागेको छ।

प्रहरीका अनुसार आज बुधवार बिहान केही युवाहरु भारततर्फ जान खोजेका थिए । निषेधाज्ञा भएका कारण सिमापारी जान नमिल्ने भन्दै सीमामा खटिएका सशस्त्र प्रहरीले उनीहरुलाई रोकेका थिए । सोही कारण युवा र सुरक्षाकर्मीबीच विवाद भएको बताइएको छ ।

विवादपछि युवाहरुले ड्युटीमै रहेका सशस्त्र प्रहरीलाई आक्रमण गरेकाले हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु लामाले लोकपथलाई जानकारी दिए ।

गोली लागेका घाइते अविनाशको सहिद स्मृति अस्पताल चौपत्तामा लगिएको र त्यहाँबाट पनि थप उपचारका लागि बुटवल रिफर गरिएको बताइएको छ।

अन्य तीन जना घाइते भएका छन्। घटनाबारे थप अनुसन्धान भैरहेको प्रवक्ता लामाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?