दाङमा अटो एम्बुलेन्स सञ्चालनमा

लोकपथ
63
Shares
Drivers stand near auto rickshaw ambulances, prepared to transfer people suffering from the disease and their relatives for free, in New Delhi, India May 5, 2021. Picture taken May 5, 2021. REUTERS/Adnan Abidi

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण बढिरहेको र निषेधाज्ञा जारी रहेको समयमा बिरामीलाई सहजता दिलाउन दाङमा अटो एम्बुलेन्स सञ्चालनमा आएका छन् । सङ्क्रमण बढ्दै जाँदा नारायणपुर, घोराही र तुलसीपुरमा अटो एम्बुलेन्स सञ्चालन भएका छन् ।

नाराणपुर उद्योग वाणिज्य सङ्घले कोरोनाका बिरामीलाई अस्पतालसम्म पुर्‍याउन र पीसीआर जाँच गराउनका लागि सङ्घले अटो एम्बुलेन्स शुरु गरेको सङ्घका अध्यक्ष अभियान बस्नेतले जानकारी दिए। अहिले पाँचवटा अटो एम्बुलेन्स सञ्चालनमा रहेका छन् । सङ्घले अटो चालकको  पाँच लाखको बीमा गरिदिएको र स्वास्थ्य सामग्री तथा पिपिई सेट उपलब्ध गराइएको उनले बताए ।

रोटरी क्लब अफ दाङले लकडाउनका बेला बिरामीलाई सहजताका लागि थप पाँच अटो एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । महामारीको विषम परिस्थितिमा कोरोनासँगै अन्य रोगबाट समस्यामा परेका बिरामीलाई अस्पतालसम्म जान सहजताका लागि अटोलाई एम्बुलेन्सका रुपमा प्रयोगमा ल्याइएको क्लबका अध्यक्ष डा चेतनारायण पाण्डेले जानकारी दिए । पाँच अटो सञ्चालनमा ल्याएर शुरु गरिएको अटो एम्बुलेन्सलाई अहिले १० पुर्‍याइएको छ ।

अटो एम्बुलेन्सका साथै रोटरीमार्फत पाँचजना चिकित्सकले सामाजिक सञ्जालमार्फत कोरोनासम्बन्धी परामर्श प्रदान गरिहेका बताइएको छ । तुलसीपुर उपमहानगरपालिकासँगको समन्वयमा अटो एम्बुलेन्स सञ्चालनमा ल्याइएको हो । तुलसीपुरमा बिरामीलाई सहजताका लागि अटोलाई एम्बुलेन्सका रुपमा सञ्चालन गरिएको छ ।

कोरोना सङ्क्रमणदर रोकथाम तथा न्यूनीकरणका लागि गरिएको लकडाउनका कारण बिरामीले पछिल्लो समय सहजरुपमा एम्बुलेन्स सेवा पाउन नसकेपछि समयमै अस्पताल पुग्न सहजताका लागि अटोलाई एम्बुलेन्सका रुपमा सञ्चालन गर्न थालिएको हो ।

विपन्न नागरिकले सुलभ भाडादरमा बिरामीलाई अस्पताल लैजान-ल्याउन सहजताका लागि अटो एम्बुलेन्स सञ्चालनमा ल्याइएको अटो एम्बुलेन्स सञ्चालन अभियानका संयोजक मोहन सुनारले जानकारी दिए । उनीसहित तुलसीपुरका चार युवा दीपक कुमाल, सुनिलबाबु डाँगी र अजय दुलालले संयुक्तरुपमा अटो एम्बुलेन्स सञ्चालनको अभियान शुभारम्भ गरेका हुन् ।

अटो एम्बुलेन्सले तुलसीपुर आसापासका क्षेत्रमा सेवा दिने र साबिकमै लाग्दै आएको भाडा लिने अभियानका संरक्षक कुमालले जानकारी दिए । तुलसीपुरमा अहिले तत्कालका लागि नौ अटोले बिरामीलाई एम्बुलेन्सको सेवा प्रदान गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?