धनगढी/टेकसिँह धामी । सुदूरपश्चिमको धनगढीमा रहेको प्रदेशकै एकमात्र ग्यास उद्योग मालिका ग्यास उद्योगको अक्सिजन प्लान्ट बिग्रिएको छ ।
प्रदेशमा कोरोनाका बिरामीहरुले अक्सिजन अभावमा अकालमै ज्यान गुमाइरहेका बेला प्रदेशको अस्थायी मुकाम धनगढीमा रहेको उक्त उद्योगको मेसिन बिग्रिएको हो ।
सोमवार राति उद्योगको अक्सिजन प्लान्ट बिग्रिएको र आपूर्तिमा समस्या भएको उद्योगले जनाएको छ । प्रदेशमै रहेको एकमात्र सो ग्यास उद्योगको दैनिक एक सय ५० देखि एक सय ८० सिलिन्डर अक्सिजन उत्पादन क्षमता रहेको छ ।
उद्योगको अक्सिजन प्लान्ट बिग्रदा अक्सिजन आपूर्तिमा झन समस्या पैदा भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।
उनले भने,‘ यहाँका अस्पतालहरुमा अक्सिजन अभाव भइरहेका बेला मालिका ग्यास उद्योगले केही हदसम्म भएपनि धानेको थियो । तर सोमबार राति मेसिन बिग्रिएपछि उत्पादन रोकिएको जानकारी सञ्चालकले गराएका छन् । अब थप समस्या सिर्जना हुने देखियो । मर्मतका लागि भारतबाट जनशक्ति ल्याउनुपर्ने भएकाले त्यसका लागि हामीले पहल थालेका छौँ ।’
जोशीका अनुसार अहिले नेपालगञ्जबाट थप अक्सिजन सिलिन्डर ल्याउने प्रयास भइरहेको छ । मालिका ग्यास उद्योगले प्रदेशकै रेफरल सेती प्रादेशिक अस्पताललाई अहिले दैनिक ३० देखि ४० सिलिन्डर अक्सिजन उपलब्ध गराइरहेको थियो ।
मालिकाले उपलब्ध गराउने कम्तीमा ४० सिलिन्डर, सेतीकै अक्सिजन प्लान्टबाट ६० सिलिन्डर गरेर दैनिक एक सय सिलिन्डरको जोहो धनगढीमै गरिरहको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।
उनले भने,‘हामीलाई कोरोना संक्रमितका लागि अहिले दैनिक डेढ सय सिलिन्डर अक्सिजन आवश्यक पर्छ । मालिकाबाट ४० र हाम्रो ६० गरेर सय सिलिन्डर सम्म व्यवस्थापन भइरहेको थियो । बाँकी नेपालगञ्जबाट ल्याएर जसोतसो काम चलाइरहेका थियौँ । अब मालिकाको प्लान्ट बिग्रिएका कारण समस्या हुने भयो ।’
कोभिड अस्थायी अस्पतालमा ५९ संक्रमित उपचाररत :
सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा अहिले ५९ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । उनीहरु मध्ये १३ जनाको आईसीयू, ५ जनाको भेन्टिलेटर, ३६ जनाको अक्सिजन सर्पोट र ५ जनाको आवश्यकता अनुसार अक्सिजन दिएर उपचार भइरहेको अस्पतालले जनाएको छ । इमरजेन्सी वार्डमा ३३ जना उपचाररत छन् । उनीहरु सबैलाई अक्सिजन दिएर राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया