स्टेडियम निर्माणबारे कतारको निर्णय: कामदारको लागत फिर्ता हुने

काठमाडौँ,६ चैत — कतारमा निर्माणाधीन विश्वकप फुटबल रंगशालामा कार्यरत नेपालीसहित विदेशी कामदारले दलाललाई बुझाएको लागत खर्च फिर्ता पाउने भएका छन्, कान्तिपुर दैनिकमा खबर छ  ।सन् २०२२ को विश्वकपका लागि निर्माणाधीन रंगशालाहरूमा झन्डै २ हजार नेपाली कार्यरत छन् । कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाका अनुसार ‘द सुप्रिम कमिटी फर डेलिभरी एन्ड लिगेसी (एससी)’ मार्फत कामदारको लागत खर्च फिर्ता गर्ने घोषणा गरिएको हो । कतारमा विश्वकप रंगशालासम्बन्धी जिम्मेवारी लिएको सुप्रिम कमिटीले झन्डै ३० हजार कामदारको ३.६ मिलियन युरो फिर्ता गर्नुपर्ने अनुमान गरिएको छ । ती रंगशालामा काम गर्न अघिल्लो महिनासम्म ५ हजार ५ सय कामदार पुगिसकेका छन् । विश्वकपका लागि कतारले ८ वटा नयाँ रंगशाला बनाउने घोषणा गरेको छ ।दूतावासले नेपाली कामदारले तिरेको सेवा शुल्क फिर्ता गराउन सम्पूर्ण विवरण पठाइदिन वैदेशिक रोजगार विभागलाई अनुरोध गरेको छ । ‘रंगशाला निर्माणमा कार्यरत नेपालीहरू कुन–कुन कम्पनीमा कुन म्यानपावरले पठाएको भन्ने पूर्ण विवरण दूतावाससँग छैन,’ राजदूत कोइरालाले भने, ‘त्यसको पूर्ण विवरण पठाइदिन विभागलाई आग्रह गरेका छौं । म त्यही विवरण पर्खेर बसेको छु ।’विभागबाट पूर्ण विवरण आउनासाथ सुप्रिम कमिटीमा पेस गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?