नुवाकोटको खरानीटार अस्पतालमा २० शैयाको ओइसोलेसन कक्ष तयार

RSS
126
Shares

नुवाकोट । कोरोना संक्रमणको दर बढ्दै गएसँगै नुवाकोटको तादी गाउँपालिकाले उपचारको लागी २० शैयाको ओइसोलेसन कक्ष तयार गरेको छ ।

पालिकामा समुदायसम्म कोरोनाको संक्रमण देखिएसँगै रोग नियन्त्रणको लागी अहिले तत्कालको लागी २० शैयाको आइसोलेसन कक्ष तयार गरेर संक्रमितको उपचार गर्न तयारी अवस्थामा राखिएको गाउँपालिका अध्यक्ष नारायणप्रसाद पाण्डे जानकारी दिए ।

उनका अनुसार दिनप्रतिदिन बढ्दै गएको कोरोना रोग नियन्त्रण गर्न तादी गाउँपालिका लगायत आसपासलाई समेत उपलब्ध गराउन खरानीटार अस्पतालमा अक्सिजन सहितको आइशोलेसन शय्या तयार गरिएको हो ।

“कोरोना संक्रमणको दरमा देखिएको बृद्धिसँगै खरानीटार अस्पतालमा स्वाव सङ्कलन गरेर परीक्षणको लागी पठाउने ब्यवस्था मिलाइएको छ”, अध्यक्ष पाण्डेले भने “रोगको लक्षण देखिएका तादी गाउँपालिकावासी सहित छिमेकी स्थानीयतहका बासिन्दाको लागी समेत सेवा दिन चिकित्सक सहितको स्वाथ्यकर्मी समेत केन्द्रमा राखिएको छ ।”

बुधवार गरिएको २२ जनाको पीसीआर परीक्षणमा तादी गाउँपालिकामा १२ जना थपिएसगैँ सक्रिय संक्रमितको संख्या २१ पुगेको छ ।

अति आवश्यकबाहेकका सेवा बन्द

यसैबीच तादी गाउँपालिका अन्तरगतको स्वास्थ्य शाखामा कार्यरत एकजना कर्मचारी सहित पालिकाको केन्द्र आसपासको बजार क्षेत्रका बासिन्दामा कोरोनाको संक्रमण देखिएसगैँ बुधवारदेखि अनिश्चित समयको लागी पालिका र मातहत कार्यालयको अतिआवश्यक बाहेकका सेवा बन्द गरिएको छ ।

गाउँपालिकाका प्रशासकीय अधिकृत कृष्ण थापाले बुधवार जारी गरेको सूचना अनुसार रोगको संक्रमण वृद्धिहुदै गएकाले अनिश्चित समयको लागी गाउँपालिकाको कार्यालय सहित छ वटा वडा कार्यालय, विभिन्न शाखा कार्यालयको अतिआवश्यक बाहेकको सेवा बन्द गर्न भनिएको छ ।

अति आवश्यक सेवा चलाउन कोरोना रोगबाट बच्न तोकिएको मापदण्डको पालना गरेर आलोपालो गरेर बिहानदेखि बेलुकासम्म सेवा उपलब्ध गराउन दुई समूह बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?