धनगढी-टेकसिँह धामी । सुदूरपश्चिम प्रदेशका अस्पतालमा कोभिड संक्रमितलाई भर्ना गर्न ठाउँ अभाव हुँदै गएको छ।
कोभिडको उपचार हुने प्रदेशका मुख्य तीन अस्पताल सेती, महाकाली र डडेल्धुरा अस्पतालका आकस्मिक कक्ष समेत बिरामीले भरिएका छन्। सेती र महाकाली अस्पतालमा कोभिडका विरामीले शय्या अभावमा भुईमा ओछ्यान लगाएर उपचारको पर्खाइमा बस्नुपर्ने अवस्था आएको छ।
आइतवार बिहान सेती प्रादेशिक अस्पतालको आकस्मिक कक्ष बिरामीले भरिएको थियो। आकस्मिक कक्षमा भएका सबै शैयामा मात्रै होइन बेञ्च, ग्यालरी र भुईमा समेत बिरामीहरु पल्टिएका देखिन्थे। स्वास्थ्यकर्मीहरुले ग्यालरीमा शैया लगाएर अक्सिजन दिनुपर्ने बिरामीलाई अक्सिजन दिइरहेका थिए भने अवस्था तुलनात्मक रुपमा ठीक रहेका बिरामीलाई घरमै बस्न सम्झाउँदै गरेको देखिन्थ्यो।

स्वास्थ्यकर्मीहरु असिन पसिन भएर उपचारमा जुटेका देखिन्थे। सेतीको आकस्मिक कक्ष कोभिडका संकास्पद बिरामीले भरिएको देखिन्थ्यो। सेती कै कोभिड अस्पतालमा भने ६३ जना संक्रमितको उपचार भइरहेको छ।
“यो संकटको समयमा स्रोत साधनले भ्याएसम्म अस्पतालले अधिकतम बिरामीको उपचार गरिरहेको छ। कोभिड अस्पतालमा शैया संख्याभन्दा बढी बिरामी छन्। आकस्मिक कक्षमा पनि धेरै बिरामी उपचार र परामर्शका लागि आउने गरेका छन्” अस्पतालका सूचाना अधिकारी दिलिपकुमार श्रेष्ठले लोकपथसँग भने।
डडेल्धुरा अस्पतालमा पहाडी ७ जिल्लाका कोभिड संक्रमित उपचारको लागि आउँछन्। बिरामीको संख्या बढेसँगै अस्पतालले २१ शैयाबाट बढाएर कोभिड उपचारका लागि ३० शैयाको जोहो गरिरहेको बताइएको छ।

“अस्पतालमा देनिक ५-६ जना नयाँ संक्रमित आइरहेका तर निको भने दैनिक ३ जनाको अनुपातमा मात्रै भइरहेका छन्। अस्पतालले लक्षणसहित आएका बिरामीलाई अहिलेसम्म त भर्ना गरेको छ। तर संक्रमणको दर हेर्दा भोलिका दिनहरुमा समस्या हुन्छ कि भन्ने लागेको छ। अस्पतालमा अहिले नै अक्सिजनको समस्या हुन थालेको छ” डडेल्धुरा अस्पतालका सूचना अधिकारी टंक पन्तले बताए।
पहाडी जिल्लामा संक्रमित हुनेको संख्या निको हुनेको भन्दा दोब्बर देखिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन्। यो पटक बिरामीको अस्पताल बसाइँ अबधि समेत लम्बिएको दाबी गरिएको छ।
कञ्चनपुरको महाकाली अस्पतालले जनरल वार्डलाई समेत कोभिड संक्रमितको उपचारमा प्रयोग गरिरहेको जनाएको छ।
“अस्पतालले बिरामीको चापलाई हेरेर ८० शैयाको बन्दोबस्त गरेतापनि संक्रमणको दर यथावत रहेमा भने असपतालले धान्नै नसक्ने अवस्था आउने देखिन्छ। अहिले आकस्मिक कक्षमा १० जना बिरामी छन्। अस्पतालमा ६ जना डक्टर लगायत ३० जनामा कोभिड संक्रमण भएको छ” अस्पतालका कोभिड सम्पर्क व्यक्ति डक्टर गोबिन्द रोकायाले बताए।
सुदूरपश्चिम प्रदेशका सरकारी अस्पतालमा कोभिडका लागि छुट्याइएको शैया खाली नहुँदा आकस्मिक कक्षमा बिरामीलाई होल्ड गरेर राख्नुपरेको अस्पतालहरुले बताएका छन्। अस्पतालहरुमा अक्सिजनको अभाव समेत देखा परेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया