निषेधाज्ञा : सुनको आयात र वितरण प्रभावित

लोकपथ
35
Shares

काठमाडौं- कोरोना महामारीका कारण काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न  प्रमुख शहरहरुमा जारी निषेधाज्ञाका कारण सुन आयात प्रभावित हुने भएको छ।

निषेधाज्ञा जारी रहेका स्थानमा सुनको कारोबार पनि हुन नसक्ने र यस्तो अवस्थामा बैंकहरुले सुरक्षाको कारण देखाउँदै सुन आयात गर्न अप्ठ्यारो हुने जनाएकाले सुन आयात हुन कठिनाइ हुने भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर महासंघको कार्यालय बन्द गर्ने निर्णय गरिसकेको छ । यद्यपि केही जिल्लामा कारोबार सुचारु रहेकोले महासंघले सुनको दरभाउ भने तोक्दै आएको महासंघका महासचिव धर्मशुन्दर बज्राचार्यले बताए ।

उनले अधिकांश स्थानको ब्यवसाय नै बन्द रहेको र ग्राहक पनि पसलसम्म जानसक्ने अवस्था नरहेकोले अहिले धेरैजसो  ठाउँमा बन्द रहेको र ग्राहकहरु पनि पसलसम्म जान सक्ने अवस्था नरहेको र मोफसलका केहि जिल्ला र शहरहरु मात्र खुलेको हुनाले दैनिक २० किलो सुन ल्याउन आवश्यक नदेखिएको बताए ।

अहिले रोकिएको सुनको आयातलाई व्यवसाय सुचारु भएपछि निरन्तरता दिँदा अहिले रोकिएको समेत गरी थप सुन व्यवसायीकै हातमा पर्न जान्छ । तर अहिले पनि पहिला जसरी दैनिक २० केजीका दरले नै सुन वितरण गर्दा सिमित ब्यक्तिको हातमा त्यो सुन पर्ने तर वास्तविक ब्यवसायी र उपभोक्ताले त्यो नपाउने अवस्था आउन सक्ने आशंका व्यवसायीहरुको छ।

महासंघका प्रवक्ता मनोजकुमार शाहले कारोबार सुचारु रहेका जिल्लाहरुका लागि स्थानीयस्तरमा नै सुनको विक्रीको ब्यबस्था मिलाउन बैंकर्स एशोसिएशनसँग आग्रह गरिएको बताए । यसकालागि व्यवसायी र बैंकर्स एशोसिएसनबीच  आवश्यक परामर्श भैरहेको उनको भनाइ छ । कारोबार सुचारु रहेका स्थानमा बिशेष स्वास्थ्य सुरक्षा अपनाएर कारोबार गर्न समेत उनले ब्यबसायीहरुलाई आग्रह गरे।

विगतमा पनि बन्दको वेला सुन आयात गरिँदा त्यो सुन वास्तविक व्यवसायी र ग्राहकले उपभोग गर्न नपाएको आशंका गरिएको थियो । गत बर्षको बन्दमा झन्डै ५ सय किलो सुन बैंकमा थुप्रिए पनि बन्द खुलेको केही दिनमा नै उक्त सुन सकिएको थियो । तर त्यो सुन कहाँ गयो भन्ने तथ्याङ महासंघसँग नै छैन । यसर्थ फेरि पनि त्यसरी सुन गायव नओस भन्नेतर्फ महासंघ सचेत बनेको छ। सामान्यतया बैंकहरुबाट आयात हुने सुन १५ दिनपछि ब्यबसायीको सिफारिस विना नै बैंकहरुले विक्री गर्ने गरेको छ।

सरकारले निषेधाज्ञा गरेको अवस्थामा पनि ‘जति सुन ल्याए पनि हामी उठाउँछौं’ भन्ने जस्ता अभिव्यक्ति आउनुलाई चलखेलकै रुपमा लिन सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?