रेशम चौधरीलाई छाड्न खोजिएपछि आयो यस्तो चेतावनी

काठमाडौँ, ६ चैत – टीकापुर घटनाका योजनाकार भनिएका सांसद रेशम चौधरीलाई रिहा नगर्न सचेत गराउँदै पीडितहरूले त्यसो गरिएमा संघर्षमा उत्रने चेतावनी दिएका छन् ।घटनामा ज्यान गुमाएका प्रहरीका परिवारले चौधरीको रिहाइले आफूहरूमाथि थप अन्याय हुने भन्दै ‘कुनै पनि हालतमा उनलाई माफी दिन नदिन’ सरकारलाई सचेत गराएका हुन् ।थुनामा रहेका चौधरीलाई छाड्नुपर्ने सर्त राखेर राजपा सरकारमा जाने तयारी गरेपछि पीडितले विरोधमा बोलेका हुन् । ‘टीकापुर हत्याकाण्डका मुख्य योजनाकारलाई नै सरकारले छाड्न लागेको सुन्दा हामीलाई ज्यादै दु:ख लागेको छ,’ घटनामा मारिएका नेपाल प्रहरीका इन्सपेक्टर केशव बोहराकी पत्नी शारदाले भनिन्, ‘यो त हाम्रो घाउमा नुनचुक लगाएजत्तिकै हो । राजनीतिक आवरणमा अपराधीलाई जोगाउन पाइन्छ ?’कैलालीमा भएको थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ गते टीकापुरमा हिंसा भड्किँदा बोहरालगायत ७ सुरक्षाकर्मी र एक बालकको हत्या भएको थियो । घटनापछि छानबिन गर्दा दोषी देखिएका मुख्य अभियुक्त चौधरीसहित ५२ जनाविरुद्ध मुद्दा दायर भएकामा २२ जना मात्रै पक्राउ परेका थिए, उनीहरू कैलाली जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका लागि थुनामा छन्, कान्तिपुरमा खबर छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?