भारतमा एकै दिन १ लाख ६१ हजार जनामा कोभिड सङ्क्रमण

एजेन्सी । भारतमा कोरोना भाइरसको सङ्क्रमणको कारण एकैदिनमा १ लाख ६१ हजार जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

गत २४ घण्टामा भारतमा १ लाख ६१ हजार ९१२ जना थप व्यक्तिमा कोरोना भाइरस सङक्रमण देखिएको छ । यो सङ्ख्या भारतमा कोरोना भाइरस शुरु भएयताकै धेरै मध्येमा पर्दछ ।

भारतमा हिजो मात्र पनि १ लाख ६८ हजार जनामा कोरोना संक्रमण भएको पाइएको सरकारी स्रोतले सोमवार जनाएको थियो । पछिल्ला केही दिनदेखि भारतमा दैनिक एक लाखभन्दा बढी सङ्क्रमित भएका छन् ।

यो तथ्याङ्कले भारतमा नयाँ सङ्क्रमितहरुको सङ्ख्या दैनिक रुपमा बढ्दै गएको देखाएको छ । यहाँ मृत्यु हुनेको सङ्ख्या पनि दिन प्रतिदिन बढ्दै गएको देखिएको छ ।

त्यसैगरी भारतमा गएको २४ घण्टा यता ८७९ जनाको यस संक्रमणका कारण मृत्यु भएको छ । यो समेत गरी यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या १ लाख ७१ हजार नाघेको छ । कोरोना शुरु भएयता हालसम्म भारतमा एक लाख ७१ हजार ५८ जनाको मृत्यु भएको केन्द्रीय सरकारले मंगलवार जानकारी दिएको छ ।

गएको आइतवार मात्र भाइरस सङ्क्रमणको कारण ९०४ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

यसवर्ष शुरु भएपछि हालसम्मको तथ्याङ्कलाई हेर्दा यो सङ्ख्या सबैभन्दा उच्च हो । भारतका कूल सङ्क्रमितको सङ्ख्या १ करोड ३६ लाख भन्दा बढी भएको जनाइएको छ ।

भारतमा गत जनवरी १६ बाट कोरोनाविरुद्ध खोपको शुरुवात भएको थियो । सो समयदेखि हालसम्म १० करोड ४५ लाख २८ हजार ६६५ व्यक्तिहरु खोप लगाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?