टेकसिँह धामी/ धनगढी- सुदूरपश्चिममा पछिल्लो समय आत्महत्याका घटनाहरु बढ्दै गएका छन् । हिजो (बिहीवार) धनगढीको चौराहा नजिकै एक होटेलमा महिलासँगै राती बास बसेका पुरुष मृत अवस्थामा भेटिए ।
मृत अवस्थामा फेला परेको खबरपछि प्रहरीले अनुसन्धान थाल्यो । जिल्ला प्रहरी कार्यालयका सह प्रवक्ता प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले होटलमा धनगढी उपमहानगरपालिका–१७ धुरजन्नाका ४३ वर्षीय तिलक भण्डारी मृत भेटिएको पुष्टि गरे ।
उनले होटेलको कोठाको सिलिङ पंखामा झुण्डिएको अवस्थामा मृत भेटिएको जनकारी दिएका छन् ।
आफन्त आन्दोलित
धनगढीको सनराइज होटलमा मृत भेटिएपछि तिलक भण्डारीका आफन्तले आन्दोलन गरेका छन् । प्रहरीले घटनामा दोहोरो भूमिका खेलेको आरोप लगाउँदै आक्रोशित आफन्तले चौराहामा सडक अवरुद्ध पार्दै सवारी साधन बन्द समेत गरेका थिए ।
सोही क्रममा प्रहरीले उनीहरुमाथि बल प्रयोग गर्यो । प्रहरीले धनगढी चौराहमा सडक अवरुद्ध पार्न खोज्ने ३ जनालाई पक्राउ समेत गर्यो । जिल्ला प्रहरी कार्यालय कैलालीका सह प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिए ।
उनीहरुले आफूहरुको सहमती विपरीत जबरजस्ती प्रहरीले होटलबाट शव उठाएको आरोप छ ।
यता प्रहरीले भने होटलमा काम गर्दै आएकी एक युवतीलाई अनुसन्धानका लागि पक्राउ गरिएको जनाएको छ । प्रहरीले युवतीको नाम भने सार्वजनिक गरेको छैन ।
केही दिनअघि मात्रै धनगढीकै अर्को एक होटलमा श्रीमानसँगै बसेकी कञ्चनपुरकी महिलाको पनि संदिग्ध अवस्थामा कोठामै शव फेला परेको थियो । यसरी अकालमा ज्यान गुमाउनेको संख्या वर्षेनी बढ्दो छ । क्षणिक आवेशमा आएर जीवन अन्त्य गर्नेको संख्या ठूलो छ । तर यसको रोकथामका लागि प्रभावकारी पहल भने कतैबाट भएको छैन ।
यस्तै केही दिनअघि पूर्व–पश्चिम राजमार्ग अन्तरगत कञ्चनपुरको वेदकोट नगरपालिका–१ चम्फापुरस्थित राधा नदी नजिकै सोही ठाउँका २९ वर्षीय नरेश सार्की दुई दिनअघि रुखमा झुन्डिएको अवस्थामा मृत फेला परे । प्रहरीको प्राम्भिक अनुसन्धानले उनी मानसिक तनावमा रहेको खुल्यो । तर कुन कारणले उनलाइ तनाव थियो, सो बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
मंगलवार नै मृत भेटिएका कृष्णपुर नगरपालिका– ९ का ७२ वर्षीय केशर रानाले झुण्डिएरै आत्महत्या गरेका थिए । उनी घर नजिकैको रुखमा झुण्डिनुको कारण समेत खोजी भइरहेको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाले अधिकांश आत्महत्याका घटनामा मुख्य कारण आर्थिक अभाव देखिने गरेको बताए ।
कोरोना संक्रमणपछि धेरै मानिस रोजगारी गुमाएर घरमै बसिरहेका कारण आर्थिक अभावमा दैनिक आवश्यकता पुर्ति गर्न नसक्दा घरायसी विवाद हुने क्रम बढेको छ ।
घरासयी विवाद हुँदा मानिस मानसिक रुपमा कमजोर बन्दै जाने र अन्नतः आत्महत्याको विकल्प रोजेको अधिकांश घटनाले पुष्टि गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
अधिकांशले आर्थिक संकटमा परेका र सोहि कारण मनोवैज्ञानिक दबाव बढेर आत्महत्यासम्म पुग्ने गरेको प्रहरीले जनाएको छ । गत वर्षको चैतमा लकडाउन भएपनि हालसम्म त्यसको प्रभाव रहेको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा आत्महत्याका घटना बढेका छन् ।
गरीबी, अशिक्षा, भौतिक विकटता लगायतका कारणले मानिस आत्महत्या गर्ने गरेकोे सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी उत्तमराज सुवेदीले बताए ।
उनले भने, ‘आर्थिक अभावसंगै समाजिक सञ्जालको दुरुपयोग समेत आत्महत्याको कारण हो । सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध, अनैतिक सम्बन्ध तथा प्रेम सम्बन्धको गलत प्रयोगले मानिसहरु आत्महत्या गर्दै आएका छन् ।’
सुदूरपश्चिममा आर्थिक अभाव र मनोवैज्ञानिक समस्याको निदान हुन नसक्नु आत्महत्याको प्रमुख कारण रहेको मनोरोग विषेशज्ञ डाक्टर गणेश खड्काले बताए । आत्महत्याको दर नियन्त्रण गर्न निकै चुनौतीपूर्ण विषय भएको उनको भनाइ छ ।
प्रदेश र स्थानीय तह तथा समुदायहरूमा आत्महत्या रोकथामका लागि पर्याप्त प्रयासहरु नभएका कारणले पनि आत्महत्यामा कमी आउन नसकेको आम बुझाइ छ ।
सुदूरपश्चिममा गत आर्थिक वर्ष ५ सय ३३ जनाले आत्महत्या गरेकोमा चालु आर्थिक वर्षको फागुनसम्म ४ सय ४३ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया