होटलमा काम लगाइदिने भन्दै जबरजस्ती यौन व्यवसायमा लगाउने ५ जना पक्राउ

RSS
0
Shares

काठमाडौं । युवतीहरुलाई जबरजस्ती यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–७ झाङगाझोली घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका माकलबारी बस्ने २४ वर्षीय सरगम भन्ने श्यामकुमार भट्टराई, सिन्धुली ग्याङ्ले गाउँपालिका–३ तामाझोर घर भई हाल माकलबारी बस्ने १९ वर्षीया मसेली भन्ने सुहाना तामाङ, काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्ने ५२ वर्षीय प्रकाश ढुङ्गेल, नुवाकोट सूर्यगढी नगरपालिका–४ घर भई हाल माकलबारी बस्ने ३१ वर्षीया मुना थापा मगर र काठमाडौं कागेश्वरी मनहरा नगरपालिका–१ गाँगलफेदी बस्ने ४७ वर्षीय राजकुमार सुनार रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

गरीब, मजदूर तथा आर्थिक अवस्था कमजोर भएका बालिका एवं युवतीलाई कपडा पसल वा अन्य ठाउँमा जागिर लगाइदिन्छु भनी प्रलोभनमा पारेर विभिन्न होटलमा पुर्‍याइ जबरजस्ती यौन धन्दामा लगाउने गरेको आरोपमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले गोकर्णबाट उनीहरुलाई पक्राउ गरी आज बिहीवार सार्वजनिक गरिएको परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

बलात्कारको शिकार भएकी १६ वर्षीया छोरीलाई लिएर परिसरमा चैत १८ गते आएका पीडित बालिकाका पिताले सुहाना तामाङविरुद्ध मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणीको किटानी जाहेरी दिएपछि भक्तपुर प्रहरीले खोजी गर्ने क्रममा जबरजस्ती बालिका तथा किशोरीलाई ल्याएर यौन धन्दामा लगाउने सो पेशेवर समूहलाई पक्राउ गरेको उनले जानकारी दिए ।

जाहेरीपछि अनुसन्धानका क्रममा अभिभावकसँग छोरीलाई काठमाडौंमा कपडा पसलमा काम लगाइदिन्छु भन्दै फकाएर गत १२ गते बालिकालाई सुहाना तामाङले श्यामकुमार भट्टराईसँग मिलेर काठमाडौंको गोकर्णेश्वर नपा माकलबारीमा लिएको भाडाको फ्ल्याटमा पुर्‍याएका थिए । फकाएर बालिका, किशोरी र युवतीलाई फ्ल्याटमा लैजाने, उनीहरुलाई पुराना लुगा फेर्न लगाउने, नयाँ र पारदर्शी लुगा लगाउन दिने, खान, बस्न, सुत्ने, मदिरा खान दिई लत लगाउने र कतै भाग्न नसक्ने गरी व्यवस्थापन गरेको पाइएको छ ।

प्रहरी नायब उपरीक्षक गिरीले भने, “फ्ल्याटमा कही दिन राखेर उनीहरुको तस्वीर लिएर सोही तस्वीर विभिन्न होटलमा पठाएर ग्राहकले रोजेको केटीलाई भट्टराई आफैले सवारी साधनमा राखेर होटलमा पुर्‍याउने गरेको पाइयो, आफू अन्त गएको बेलामा पुर्‍याउनु परे पठाओ लगायतका अन्य साधनमा राखेर पठाउने गरेको पाइयो होटलमा पुर्‍याएपछि बालिका, किशोरीले यौन सम्बन्ध राख्न नमाने बलात्कार गर्न लगाउने गरेको अनुसन्धानमा खुलेको छ ।”

प्रहरीले माकलबारीको फ्ल्याटमा खानतलासी गर्दा फ्ल्याटबाट अरु किशोरीसहित यौन सम्पर्क गर्दा प्रयोग गर्ने गरी विभिन्न गर्भ निरोधक एवं परिवार नियोजनका अस्थायी साधनसमेत बरामद गरेको छ । गत १४ गते १६ वर्षीया बालिकालाई पाथिभरा फेमिली कटेज एण्ड खाजा घर सुन्दरीजलमा लगेर बलात्कार गराएको पाइएपछि प्रहरीले होटल सञ्चालक ढुङ्गेल र थापा मगर तथा बलात्कार आरोपी सुनारलाई पक्राउ गरी आज सात दिनको म्याद लिएर थप अनुसन्धान शुरु गरेको प्रनाउ गिरीले जानकारी दिए ।

प्रहरी परिसर भक्तपुरकी प्रमुख एवं प्रहरी उपरीक्षक तारादेवी थापाले फ्ल्याट भाडामा लिएर बालिका तथा किशोरीलाई प्रलोभनमा पारेर ल्याउने र देहव्यापारमा लाग्न बाध्य पार्ने एउटा गिरोह पक्राउ परे पनि यस्ता गिरोह अरु पनि हुनसक्ने तर्फ प्रहरी चनाखो भएको बताए ।

कतिपयले भने उजूरी नदिने र मानव ओसारपसार एवं बलात्कारका विरुद्ध नबोल्दा समस्या आउने गरेको उनको भनाइ छ । उनले यस्ता गिरोहको खोजीलाई तीव्र बनाउने बताए । यो घटनामा पनि एक बालिकाको आँट र उजूरीले गिरोह पक्राउ परे पनि यही फ्ल्याटमा रहेका अन्य युवती तथा किशोरीले भने अरु कुन कुन होटलमा लगेर जबररजस्ती यौन धन्दामा लगाउने गरेको थियो भन्ने जानकारी दिन नमान्दा कतिपय अपराधी उम्कन सक्ने तर्फ प्रहरी सचेत भएको बताए ।

उनले यस्ता घटना छन् भने कुनै पनि डर, धम्की र प्रलोभनमा नपरी प्रहरीलाई खबर गर्न प्रहरी उपरीक्षक थापाले सबैमा आह्वान गरे । प्रहरीले पक्राउ परेको गिरोहलाई मनाव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?