अझै केही दिन मौसममा सुधार नहुने

RSS
0
Shares

काठमाडौं । जल तथा मौसम विभागले आगामी तीन दिन मौसममा सुधार नहुने जनाएको छ । वायुमण्डल स्थिर अवस्थामा रहिरहने भएकाले तुवाँलोको यस विषम मौसमी अवस्थामा तत्काल सुधार हुने नदेखिएको जनाएको छ ।

मनसुनपूर्वको सोमवारसम्म पनि ज्यादै न्यून वर्षा भई वायुमण्डल सुक्खा भइरहेको अवस्थामा देशका विभिन्न ठाउँमा तुवाँलो लाग्नु सामान्य भए पनि यही चैत १३ गतेदेखि देशका धेरै स्थानमा असामान्य प्रकारको तुवाँलो लागेको विभागले उल्लेख गरेको छ ।

हाल मुलुकका धेरै जसो स्थानमा वायुमण्डल स्थिर अवस्थामा नै रहिरहेकाले प्रदूषणका कणहरु छरिन नपाई वायुमण्डलको तल्लो तहमै तैरिएका कारण असामान्य प्रकारको तुवाँलो लागेको हो ।

देशका अधिकांश जिल्लाका धेरै स्थानमा लागिरहेको डढेलोबाट सिर्जित धुवाँका कणहरु वायुमण्डलमा सञ्चित हुन गई असामान्य प्रकारको तुवाँलोको अवस्था आएको विभागका प्रवक्ता सुमनकुमार रेग्मीले सोमवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

खासगरी पहिलेदेखि नै प्रदूषणको स्तर सामान्यभन्दा अधिक रहेका सङ्घीय राजधानी काठमाडौं लगायतका शहरी क्षेत्रमा तुवाँलोको मात्रा अत्यधिक रहेको र फलस्वरुप वायुमण्डलको पारदर्शितामा उल्लेखनीय रूपले न्यून हुन गई जनजीवन असामान्य हुन गएको छ ।

आगामी दिनमा मौसम थोरै चलायमान हुने देखिए पनि तुवाँलो अवस्था के कस्तो हुने हो भन्नेबारे डढेलोको अवस्थामा निर्भर रहने विभागको भनाइ छ । यस वर्ष नेपालमा पोष्ट–मनसुन सिजनमा अधिकांश स्थानमा सरदर भन्दा धेरै कम वर्षा भएको र गएको हिउँदमा पनि अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा भएको तथ्याङ्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?