काठमाडौं । सांसदहरुले संसदीय समितिले गर्ने अनुगमन प्रभावकारी नभएको भन्दै स्वरुप फर्नुपर्नेमा जोड दिएका छन् ।
संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको सोमवार सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले समितिले गर्ने अनुगमनहरुको प्रभावकारिता नदेखिएकाले नयाँ ढंगले कार्यक्रम बनाउनुपर्नेमा जोड दिएका हुन् ।
समितिको चालु र आगामी कार्यक्रमका सम्बन्धमा छलफल गर्दै सांसदहरुले परम्परागत रुपले गरिने अनुगमनले सम्बन्धित निकायको कार्यसम्पादनमा खासै फरक नपरेकाले औपचारिक रुपले भन्दापनि अनौपचारिक रुपले अनुगमन गरी बास्तविक तथ्य पत्ता लगाउनुपर्ने बताएका हुन् ।
नेकपा(एमाले) का सांसद नवराज सिलवालले सुशासन कायम गर्ने सम्बन्धमा विभिन्न सरकारी निकायमा औपचारिक रुपमा गरिने अनुगमनले उपलब्धी हासिल नगरेको भन्दै सुशासन कायम गर्ने सम्बन्धमा मिडियासँग अन्तर्क्रिया, विश्वविद्यालयका विद्यार्थीसँग अन्तर्क्रिया गर्नुपर्ने बताए । त्यसैगरी नागरिकसँग बसेर नागरिकले पाएको सास्तीको बारेमा बुझेमा सम्बन्धित निकायको सेवा प्रवाह बारे नजिकबाट बुझिने भएकाले साधारण नागरिक सँग छलफल गर्नुपर्ने पनि उनको भनाई छ ।
नेपाली कांग्रसकी सांसद डिला संग्रौलाले अनुगमनलाई निरन्तरता दिनुपर्ने धारणा राखिन् । खुल्ला कारागारको अवस्थाका साथसाथै कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका अन्य सिमा जोडिएका जिल्लाहरुमा पनि अवलोकन गर्नुपर्ने उनको भनाई छ ।
नेकपा(एमाले) का सांसद बृजेश कुमार गुप्ताले स्थानिय प्रशासनलाई थाहा नदिइकन अनुगमन गर्नुपर्ने बताए । सांसदहरु ठुलो समुहमा नगइकन एक-दुई जनाको समुह बनाई छड्के अनुगमन गर्नुपर्ने उनको भनाई छ ।
जनता समाजवादी पार्टी, नेपालका सांसद रामसहाय प्रसाद यादवले गोरखाको बारपाकमा भुकम्प पछि भएको पुर्ननिर्माण र जनजिवनको सम्बन्धमा स्थलगत अनुगमन गर्नुपर्ने बताए । सरकारले के–कस्तो सेवा, सुविधा दिइरहेको छ र स्थानियको अवस्था कस्तो छ, वास्तविक तथ्य बुझ्नका लागि यो अनुगमन आवश्यक रहेको उनको भनाई छ ।
नेकपा(एमाले) का सांसद लालबाबु पण्डितले समितिले आगामी दिनको कार्यक्रम आफ्नो स्रोत र साधनले भ्याउने मात्रै बनाउनुपर्ने बताए । पुरा गर्न नसक्ने गरी कार्यक्रम बनाउनु नहुने उनको भनाई छ ।
प्रतिनिधि सभाको पुर्नस्थापना पछि संघीय संसदका विभिन्न समितिहरुले नियमित बैठक गरिरहेका छन् भने समितिले आगामी दिनमा गर्ने कामहरुको बारेमा छलफल, परामर्श गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया