“व्यवस्था बचे सत्ता पटकपटक आउँछ”: रामचन्द्र पौडेल

काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता भन्दापनि व्यवस्था जोगाउनुपर्ने बेला आएको बताएका छन् । नेपाली राजनीतिका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवसका अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसले काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले व्यवस्था बचे सत्ताको अवसर पटकपटक आउने बताएका हुन्।

आफ्नौ मौलिकता नबुझेपछि दु:ख हुने बताउंदै उनले भने, “अहिले कतै कांग्रेसले आफ्नो मौलिकता विर्सेर दुख पाएको हो कि भन्ने मलाई लागेको छ । कांग्रेसले क्रान्तिको सुरुवात श्रमको सम्मान गर्ने आन्दोलन थालेर भएको थियो । विराटनगरको मजदुर आन्दोलन होस किन पहाडमा ब्राम्हणले हलो जोत्न सुरु गरेको होस, यी दुवै श्रमको सम्मान गर्ने आन्दोलन हुन् । यो सन्देशलाई र यो मौलिकतालाई कांग्रेसले अहिले भुलेर दुख पाएको हो कि जस्तो लागेको छ ।”

२०१५ सालमा आफ्ना मौलिकता अगाडि सारेर दुईतिहाइ मत ल्याएको स्मरण गर्दै पौडेलले पछिल्लो समय कांग्रेसले आफ्ना एजेण्डालाई  भुल्न लागेकाले कमजोर भएको टिप्पणी गरे । “कांग्रेसले अब एकपटक आत्मासमिक्षा गर्न जरुरी छ, कांग्रेस समान्तवादका विरुद्ध, शोषणका विरुद्धमा जन्म भएको हो, उनले भने “ठालुतन्त्रका विरुद्धमा कांग्रेस जन्मेको हो । निमुखा अन्यायमा परेका जनताको आवाज हो भनेर कांग्रेसको जन्म भएको थियो । यो मौलिकता धानेर राख्न सकेको भए हामीसंग प्रतिष्पर्धामा आउन नै सक्दैनथे ।”

अहिले कम्युनिष्ट बढेको नभई कांग्रेस घटेको उनको भनाइ छ । उनले भने, “हामीले हाम्रा एजेण्डा छोड्दै जाने कम्युनिष्टहरुले समात्दै जाने भयो । अनि हामी घट्दै गयौ । कांग्रेस मजदुरको पार्टी श्रमिकको साथी भन्ने नारालाई व्यवहारमा उतार्न सकेको भए कांग्रेस घट्दैनथ्यो ।”

सत्तामा गएका बेलामा समाजवादलाई उतार्ने प्रयास नभएको भन्दै नेता पौडेलले नीति निर्माणका बेलामा ध्यान दिने हो भने कांग्रेसलाई दुख नपर्ने बताए ।  गिरिजाबाबुले प्रतिनीधिसभा पुनःस्थापना भन्दा अरु विकल्प नदेखेको उल्लेख गर्दै पौडेलले भने, “जनताको हातमा अधिकार जनताको हातमा सत्ता आउन जनताको सत्ता आउनुपर्छ भन्नेमा गिरिजाबाबु हुनुभयो ।”

अदालतले पुर्नस्थापना गरिदिएपछि पनि चुनाव भन्ने सुनिन थालेको भन्दै उनले अहिले संसदीय व्यवस्था असफल बनाउने कोशिस भइरहेको  दावी गरे । उनले भने, “संसदीय व्यवस्था हाम्रो आर्दश हो । कम्युनिष्ट र दक्षिणपन्थीहरुले संसदीय व्यवस्थाका विरुद्धमा छन् । दक्षिणपन्थीहरु संसदीय व्यवस्थालाई विदेशीको व्यवस्था भन्छन, कम्युनिष्टहरु संसदीय प्रणालीलाई वुर्जवा व्यवस्था भन्छन् ।”

अहिले संसद र संसदीय प्रणालीलाई बचाएर जानुपर्ने बताउंदै उनले प्रश्न गरे, “अहिलेको प्रहार भनेको संसदीय व्यवस्थामाथि प्रहार भइरहदा यसैलाई मलजल गर्ने कि निस्तेज बनाउन लाग्ने हो । अहिले पनि चुनावको कुरा गर्ने हो । कम्युनिष्टहरु दुईतिन तिर भएका बेलामा यहि संसदबाट विकल्प दिनुपर्ने हो । संसदमा प्रहार गर्यो । यो संविधानलाई नै फाल्ने कोशीश गर्नेलाई पाखा लगाउने प्रयासमा कांग्रेस लाग्नुपर्छ कि पर्दैन् । लोकतन्त्र बचाउने काममा कांग्रेस लाग्नुपर्ने हो कि होइन ?”

कांग्रेसमा चुनाबको माग भएको विषयलाई इंगित गर्दै उनले भने, ” अहिले पनि हाम्रा साथीहरु चुनाव चुनाव नै भन्दै हुनुहुन्छ । संसद विघटन गर्ने कुनै अधिकार नै छैन् । फेरि किन मंसिरमा चुनाव भनिदैछ । हामीले अहिले चुनाव हैन यही संसदलाई उपयोग गरेर यो व्यवस्था जोगाउने हो । अदालतको फैसलाले फेरि पाँच वर्ष नपुगी संसद फाल्न दिदैन्, उनले भने “अनि फेरि किन मंसिरमा वा फागुनमा चुनाव भन्दै हिडेका छौ हामी नै ।”

सत्तालाई भन्दा ब्यवस्थालाई महत्व दिन आग्रह गर्दै उनले  भने, “व्यवस्था बच्यो भने सत्ता पटक पटक आउछ । अहिले कांग्रेसले संसद पुनःस्थापना भएपछि व्यवस्था बचेको छ । तर यो व्यवस्थालाई विकृत बनाएर बदनाम गराउन लागेका छन् । हामीले जोगाउनुपर्छ ।”गिरिजाबाबुले संकटका बेलामा मुलुकलाई नेतृत्व स्मरण गर्दै पौडेलले संकटका बेलामा कांग्रेसले नेतृत्व दिनुपर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?